लहान नगपालिकाको बजेट एक अर्ब ३५ करोड
आजको खबर | प्रकाशित : २०७५ असार १३ गते ५:१९

लहान। सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु एक अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ।
दोस्रो नगरसभामा नगरप्रमुख मुनी साहले बजेट प्रस्तुत गरेका थिए। करीब दुई लाख जनसंख्या रहेको लहान नगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन गर्दा ध्यान दिनुपर्ने साहले बताए।
नगरसभाको आइतबार कानूनमन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका थिए। कार्यक्रममा सांसदहरु प्रदीप गिरी, लीलानाथ श्रेष्ठ, सरिता गिरी तथा प्रदेशसभा सदस्यद्वय ललगलाल चौधरी र अशोककुमार यादव, नेकपाका केन्द्रीय सदस्य गंगाप्रसाद यादवलगायतले दलीय अडान र दृष्टिकोण परिवर्तन गरी साझा धारणा बनाएर सेवाको भावले काम गरेमात्रै सुन्दर र समृद्ध लहान निर्माण गर्न सकिने बताए।
यसैगरी सखुवानन्कारकटी गाउँपालिकाले नमूना गाउँपालिका बनाउने भन्दै आगामी आवका लागि रु ११ करोड ८९ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ। विकास महसुस गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए।रासस