मेलबर्नमा सुशील चालिसेको ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रह विमोचन
आजको खबर | प्रकाशित : २०७५ असार २५ गते ९:५७

अष्ट्रेलिया । मेलबर्नमा सुशील चालिसेको ‘गुराँसहरु पलाँसहरु’ मुक्तक संग्रह विमोचन गरिएको छ।
पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ को मेलबर्नमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो।
भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र विशेष अतिथि लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले संयुक्त रुपमा ‘गुराँसहरु पलाँसहरु’ मुक्तम विमोचन गरेका हुन्।
विमोचन कार्यक्रममा प्रमुख अतिथि अवैतनिक महावाणिज्यदूत योन्जनले भने, ‘जहाँँ भाबुकता हुन्छ त्यहाँ साहित्यको सृजना हुन्छ।’
विमोचित पुस्तकको समालोचना गर्दै विशेष अतिथि श्रेष्ठले देशमा बिद्यमान विसंगतिहरुप्रति सचेत रहँदै सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक सबै क्षेत्र समेट्नु भएको मुक्तक संग्रह मार्फत सरलता र जीवन भोगाइलाई झल्काउन लेखक सफल हुनु भएको बताए।
कार्यक्रममा रोजी डंगोल, अभिलाषा शर्मा र आस्था पौडेलले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय साहित्यकारहरु माधव पौडेल, उत्तम पन्त, अनुपम पाठक (सायर), आशिष भेटुवाल, मनोज पौडेल, कृष्ण सापकोटा, आर्जन पौडेल, पार्वती पाहारी र ११वर्षीय आँचल पौड्यालले आ–आफ्नो साहित्यिक रचना बाचन गरेका थिए।
उक्त कार्यक्रमको लागि बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी, न्यु कन्सेप्ट फाइनान्स, फ्लाई टु नेपाल र एभेरेस्ट अनलाइन स्टोरको प्रायोजन रहेको थियो।
सेभेन एपिक इण्टरटेनमेण्ट तथा मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा आयोजित कार्यक्रमको सभापतित्व शंकर थापाले गरेका थिए भने पत्रकार एवं साहित्यकर्मी निरु त्रिपाठीले कार्यक्रम उदघोषण गरेका थिए।