शिवम् सिमन्टको शेयर अाइतबारदेखि स्थानीयलाई बिक्री शुरु हुने

आजको खबर   |    प्रकाशित : २०७५ साउन १३ गते १४:१६

हेटौंडा। निजी क्षेत्रबाट सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट उद्योगको प्रिमियमसहितको साधारण शेयर आइतबारदेखि स्थानीयबासीलाई बिक्री शुरु हुने भएको छ। सिमेन्ट उत्पादक कम्पनीमध्ये शिवम् सिमेन्टले पहिलोपटक प्रिमियमसहित आईपीओ जारी गर्न लागेको हो।

आइतबारदेखि ८ लाख ८० हजार कित्ता स्थानीय (मकवानपुरबासी) का लागि प्राथमिक शेयर जारी हुने भएको छ। प्रथम चरणमा आयोजना प्रभावित क्षेत्र (मकवानपुर) का बासिन्दाका लागि बिक्री गर्न लागिएको छ। प्रतिकित्ता एक सय रुपियाँको शेयरमा प्रिमियम २ सय रुपियाँसहित प्रतिकित्ता ३ सय रुपियाँ मूल्य कायम गरिएको उद्योगले जनाएको छ।

कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो । पुस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

हेटौंडाको सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बंगलादेश बैंक, जनता बैंक र बैंक अफ काठमाडौंको हेटौंडास्थित शाखाबाट फर्म भर्न पाइने छ।

त्यस्तै एनआईसी एसिया बैंकको हेटौंडा, मनहरी र भीमफेदी शाखा, बैंक अफ काठमाडौंको हेटौंडा र कुलेखानी शाखा, सेञ्चुरी कमर्सियल बैंकको हात्तीसुँडे, भीमफेदी, मनहरी, दामन, बज्रबाराही, हटिया, चौघडा, कमाने, बस्तीपुर शाखामा पनि आवेदन दिन सकिने छ । शेयर खरिद गर्न चाहने आवेदकले आइतबारदेखि भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

ग्रामीण क्षेत्रमा पनि आवेदन दिन सकिने गरी व्यवस्था मिलाइएकाले शिवम्को शेयर माग बढी हुने अनुमान गरिएको छ। आवेदकले न्यँनतम् १० कित्तादेखि अधिकतम् १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शिवम् सिमेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ।

गत वर्ष धितोपत्र बोर्डले वास्तविकलगायत अन्य क्षेत्रले न्यँनतम् १० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेपछि शिवम्ले पनि आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाएको हो।

प्रिमियममा आईपीओ जारी हुने हुँदा कम्पनीको वित्तीय स्थिति स्थानीय लगानीकर्ताका लागि महत्वपूर्ण छ। शेयर बजारमा सिमेन्ट कम्पनीको कारोबार नभएकाले लगानीकर्तालाई यसमा दाँज्ने अवसर छैन। हाल दोस्रो बजार घटेर न्यून विन्दुमा आएका बेला कम्पनीले जारी गर्न लागेको आईपीओको मूल्यलाई कतिपयले महँगो भनिरहेका छन्। आईपीओको वर्तमान मूल्यभन्दा पनि लगानीकर्ताले कम्पनीको वित्तीय स्थिति र आगामी दिनमा गर्ने प्रगति तथा सम्भावित प्रतिफल केलाउनु जरुरी हुन्छ।

कम्पनीको वित्तीय स्थिति सवल बन्दै जाने हो र प्रतिफल बढ्दै जान्छ भने बजारमा सूचीकृत भएपछि उसको मूल्य पनि स्वभाविकरुपमा बढ्दै जान्छ । त्यसो भए लगानीकर्ताले प्रतिफलबाट मात्रै होइन, शेयरको मूल्यबाट पनि नाफा लिन सक्छन्।

मकवानपुरबासीले शेयर भर्न चाहे डिम्याट खाता नभए पनि हुने बताइएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति पाएको शिवम् सिमेन्टले ९ महिनामा ९३ करोड ६६ लाख रुपियाँ नाफा गर्न सफल भएको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २०७४ चैत मसान्त अवधिमा सो मात्रामा नाफा कमाउन सफल भएको हो।

२०७४ असारमा शिवम्को नाफा ८१ करोड १३ लाख रुपियाँ थियो । कम्पनीको मुनाफा आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ४३ करोड ३० लाख र आव २०७६/०७७ मा १ अर्ब ८५ करोड ५० लाख रुपियाँ पुग्ने प्रक्षेपण गरेको छ।

चुक्ता पुँजी ३ अर्ब ८७ करोड २० लाख रुपियाँ रहेको शिवम् सिमेन्टको जगेडा कोषमा २ अर्ब १६ करोड रुपियाँ छ। कम्पनीले ९ महिनामा २ अर्ब ५२ करोड ४४ लाख रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको देखिन्छ । बोनस र कर अघिको नाफा भने १ अर्ब १९ करोड ८२ लाख रुपियाँ छ।

शेयर पुँजी भने आर्थिक वर्ष २०७६/०७७ सम्म आईपीओ बिक्रीपछि हुने ४ अर्ब ४० करोड रुपियाँ नै कायम हुनेछ। इक्रा नेपालले शिवम्को आईपीओलाई ३ प्लस रेटिङ दिएको छ।
चीनको होङ्सी सिमेन्टसँग साझेदारीमा रहेको शिवम् सिमेन्टको उद्योग हेटौंडामा छ। उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुँदै आएको छ। नेपाल समाचारपत्र दैनिक

२०७५ साउन १३ गते १४:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर