दुई कोरियाबीच तनाब कम गर्न सैनिक तहमा छलफल

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १२:२४

सिओल । उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्नेगरी उच्च सैनिक तहमा सीमावर्ती सहर पानमुनजोममा आज वार्ता भएको छ।

जुन १४ यता दुई कोरियाको उच्च तहमा सम्पन्न उक्त बैठक दुई कोरियालाई छुट्याउने असैनिक क्षेत्र (डिएमजेड) मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा भएको थियो।

“सैनिक तनाब कम गर्न र दुई कोरियाबीच विश्वासको वातावरण निर्माण गर्न एउटा व्यवहारिक उपायको खोजी गर्नेतर्फ हाम्रो वार्ता केन्द्रित भएको छ,” वार्तामा सहभागी दक्षिण कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं मेजर जनरल कीम डो–ग्यूनले बताए। वार्तामा दक्षिण कोरियाबाट पाँच सदस्यीय उच्च सैनिक नेतृत्व सहभागी रहेको छ।

उत्तर कोरियाका तर्फबाट लेफ्टीनेन्ट जनरल आन इक–सानको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको छ।

पर्यवेक्षकहरुका अनुसार, दुवै पक्षले पानमुनजोमको संयुक्त सुरक्षा क्षेत्र (जेएसए) लाई हातहतियारविहीन बनाउनेतर्फ विचार आदानप्रदान गर्न सक्नेछन्। उनीहरुले डिएमजेडलाई “शान्ति क्षेत्र” का रुपमा घोषणा गर्न सक्नेछन्। यस विषयमा गत महिनाको वार्तामा पनि परिचर्चा भएको थियो।

उनीहरुबीच सीमावर्ती पोस्टमा तैनाथ सैनिक र उपकरणहरु “परीक्षणका रुपमा” हटाउने विषयमा दक्षिण कोरियाली प्रस्तावमाथि पनि छलफल हुने सम्भावना रहेको छ। दक्षिण कोरियाले डिएमजेडमा करिब ६० वटा सैनिक पोस्ट स्थापना गरेको छ, जबकी उत्तर कोरियाली १६० वटा त्यस्ता पोस्ट खडा गरेको छ।

पर्यवेक्षकहरुले उत्तरी सामुद्रिक सीमाका विषयमा समेत शान्ति रेखा कायम गर्न दुवै पक्ष सहमत हुने सम्भावना औंल्याएका छन्। उनीहरुबीच सन् १९५०–५३ को कोरियाली युद्धका क्रममा मारिएका सैनिकका अवशेषको खोजी गर्नेसम्बन्धी एक परियोजनामा सहमति जनाउने सम्भावना छ।

झण्डै एक दशकपछि बसेको गत महिनाको वार्तामा सैनिक सञ्चार खुला गर्ने विषयमा सहमति भएको थियो।

२०७५ साउन १५ गते १२:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर