प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाणः कक्षा १० मा दुई विषयमा फेल !
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १:२१

काठमाडौं । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ ।
समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ ।
समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । ‘०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात् त्यसवेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो,’ समिति स्रोतले भन्यो ।
त्रिविको नेपाल ल क्याम्पसमा जोशीले बुझाएको प्रोगेस रिपोर्टमा विजय मेमोरियल स्कुलबाट प्रवेशिका परीक्षा दिएको र त्यतिवेलाको सिम्बोल नम्बर ३६६७ भनिएको छ ।
उनकै अर्को शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ३६६७ सिम्बोल नम्बरमा प्रवेशिका परीक्षा दिएको उल्लेख छ । ‘विजय मेमोरियल र नेपाल राष्ट्रिय विद्यापीठ दुवैबाट प्रवेशिका दिए । दुवैको सिम्बोल नम्बर एउटै भएको डकुमेन्टमा उल्लेख छ, एउटा संस्कृत स्कुल अर्को जनरल स्कुल । यस्तो कसरी हुन्छ ?’ स्रोतले भन्यो ।