आत्महत्या गर्नेहरूको संख्या घटाउने कसरी ?

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते ५:०१

बिबिसी । नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांक चिन्ताजनक रहेको नेपाल प्रहरीले जनाएको छ।

गत आर्थिक वर्षमा पाँच हजार भन्दा बढी मानिसहरूले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ। जुन अहिलेसम्मै उच्च रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

सामाजिक, स्वास्थ्य जस्ता विभिन्न कारणहरूले मानिसहरूले आत्महत्या गर्ने गरेको मनोविश्लेषकहरूले बताएका छन्।

डरलाग्दो तथ्यांक
त्यसका लागि सरकारले बेलैमा सचेतना अभियान नल्याए यो स्थिति अझ डरलाग्दो हुने मनोविश्लेषकहरूले चेतावनी दिएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरे।

आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय ३१ जना मानिसले आत्महत्या गरेका थिए। जुन तथ्यांक अप्राकृतिक मृत्युका कारणका तथ्यांकमध्ये सबैभन्दा उच्च हो।

अहिले आत्महत्याका घटना डरलाग्दो रुपमा बढिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए। उनले भने, ‘यो तथ्यांक एक प्रकारको डरलाग्दो देखिन्छ। यो स्वास्थ्य तथा सामाजिक समस्या हो। केही कम मात्र आपराधिक समस्या हो।’

जटिल समस्या
विश्व स्वास्थ्य संगठनका अनुसार कम आए भएका वा मध्यम आए भएका मुलुकहरूमा आत्महत्याको समस्या जटिल छ।

नेपालमा अहंकारवादी आत्महत्याको प्रकृति बढेको त्रिभुवन विश्वविद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरका समाजशास्त्र र मानवशास्त्र विभागका अनुसन्धान विभाग प्रमुख सुशील खनाल बताउँछन्।

उनले भने, ‘साना कुरामा चित्त नबुझाएर विवेक गुमाएर गर्ने आत्महत्याको प्रबृत्ति ज्यादा पाइन्छ नेपालमा।’ आत्महत्याका विभिन्न प्रकृतिमध्ये डोरी लगाएर झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या उच्च छ।

मनोविश्लेषक वासु आचार्यका अनुसार आत्महत्या गर्नु वा गर्न खोज्नु एक किसिमको मानसिक रोग हो।

अभियान आवश्यक
उनले समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रम नल्याए परिस्थिति झन् जटिल बन्नसक्ने चेतावनी दिए। प्रहरीको मात्र एकल प्रयासले आत्महत्याको दर घटाउन नसकिने प्रहरी प्रवक्ता क्षेत्रीको भनाइ छ।

उनले सामुहिक प्रयासको आवश्यकतामा जोड दिएका छन्।

परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन्।

२०७५ साउन १६ गते ५:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर