तेस्रो मुलुक लैजान लागिएका ३९ नेपाली युवतीको दिल्लीको पहाडगञ्जबाट उद्धार
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते ७:४२

नयाँ दिल्ली। दिल्ली महिला आयोगले पहाडगञ्जबाट राति एक बजे एक होटलबाट ३९ नेपाली युवतीको उद्धार गरेको छ। यी सबै नेपाली युवतीलाई तेस्रो मुलुक पठाउने तयारी भइरहेको थियो।
दिल्ली महिला अयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा होटलमा राखिएका सबै ३९ नेपाली युवतीलाई सुरक्षित रुपमा बाहिर निकाल्न सफल भएको भारतीय संचारमाध्यमले जनाएको छन्। विगत केही दिनदेखि दिल्लीका विभिन्न स्थानबाट नेपाली युवतीलाई उद्धार गरिँदै आइएको छ।
दिल्लीको पहाडगञ्जको एक होटलमा नेपाली युवती राखिएको सूचनाका आधारमा महिला आयोगकी अध्यक्ष स्वाति मालीवाल स्वयं राति एक बजे प्रहरी टोलीसहित होटलमा छापा मार्न पुगेकी थिइन्। र, प्रहरीको सहयोगमा सबै नेपाली युवतीलाई सुरक्षित रुपमा होटलबाट बाहिर निकालिएको छ।
यी सबै युवती केही दिन अगाडि नेपालबाट भारत हुँदै तेस्रो मुलुक लैजाने तयारी भएको थियो। ती सबै युवतीको पासपोर्ट दलालले आफूसँग राखेर उनीहरुलाई होटलमा राखेको थियो।
केही दिन पहिला दिल्ली महिला आयोगले दिल्लीको मुनिरका इलाकाबाट राति करिव साँढे एक बजे १६ नेपाली युवतीको उद्धार गरेको थियो।
दिल्लीबाट उद्धार गरिएका युवतीलाई कुवेत र इराक पठाउने तयारी भएको थियो।