अब युवाको उमेर ३५ वर्ष, पाँच वर्ष घटाउने प्रस्ताव
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १२:१७

काठमाडौँ। राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ। परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए। राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए।
उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए। अहिले ऐनमा युवाको उमेर १६–४० वर्ष रहेको छ। नयाँ उमेर संशोधनका लागि युवा तथा खेलकूद मन्त्रालयमा मस्यौदा पेश गरिएको छ। “१६ र ४० वर्षको युवालाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गर्न सक्दैनन्” उनले भने– “त्यसैले उनीहरुको प्रतिस्पर्धा एकै समूहमा बनाउनका लागि उमेर घटाइएको हो।”
संयुक्त राष्ट्र संघको मापदण्डअनुसार युवाको उमेर १५–२५ वर्ष रहेको छ। अधिकांश देशले १६–३५ को वर्षलाई युवाको उमेर मानेका छन्। यसैगरी परिषद्को ऐनमा जिल्ला युवा विकास समितिलाई खारेज गरिएको छ।
संघीय संरचनाअनुसार केन्द्रमा राष्ट्रिय युवा परिषद्, प्रदेशमा प्रदेश युवा परिषद्, हरेक स्थानीय तहमा गाउँ/नगर युवा विकास परिषद् बनाउने ऐनमा प्रस्ताव गरिएको परिषद्का उपसचिव धु्रवराज पौडेलले जानकारी दिए।
उनले खारेज गरिएको जिल्ला युवा समितिलाई एक वर्षभित्र हटाइने बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला युवा परिषद्लाई खारेज गर्दै जिल्ला समन्वय समितिमा राख्ने निर्णय गरेको थियो। अहिले ७७ जिल्लामा जिल्ला युवा विकास समिति रहेका छन्। रासस