ओली र प्रचण्डको निर्देशन : ५ भदौ एकीकरणको अन्तिम समयसीमा

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते १:२२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ भदौभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण सक्न निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयका तर्फबाट बिहीबार अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गर्दै अध्यक्षद्वयले पार्टीका तल्ला कमिटी र जनसंगठन एकीकरणको अन्तिम समयसीमा तोकेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।

सर्कुलरमा तत्कालीन एमाले र माओवादी केन्द्रको प्रदेश र जिल्ला कमिटी तथा जनसंगठन एकीकरणका लागि गठित सबै कार्यदललाई २५ साउनभित्र केन्द्रीय सचिवालयसमक्ष प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

त्यस प्रतिवेदनका आधारमा ५ भदौभित्र प्रदेश र जिल्ला कमिटीहरूको एकीकरण सम्पन्न गरी १५ भदौभित्र प्रथम बैठक आयोजना गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । एकीकरणका लागि गठित कार्यदलहरूले तयारी तीव्र पारिरहेका वेला दुई अध्यक्षका तर्फबाट सर्कुलर जारी भएको हो ।

जनसंगठनहरूको हकमा पनि त्यस्तै प्रकृतिको निर्देशन जारी गरिएको छ । नेकपाले यसअघि तीन महिनाभित्र एकता सम्पन्न गर्ने निर्णय गरेको थियो ।

जनसंगठनहरूमा संयोजकका अलावा आवश्यकताका आधारमा सहसंयोजकहरू राख्न सकिने, कार्यदलहरूलाई कमिटीको कुल सदस्य संख्याको बढीमा एकतिहाइ हुने गरी सचिवालय र बढीमा नौ सदस्य हुने गरी केन्द्रीय कार्यालयका लागि समेत सिफारिस गर्न सर्कुलरमा भनिएको छ ।

२०७५ साउन १८ गते १:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर