तीन प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभ्न नहुने
आजको खबर | प्रकाशित : २०७५ साउन १८ गते १२:०९

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन्।
नेपाल ललितकला पत्रकार समाजले यहाँ आज आयोजना गरेको ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र नियुक्ति प्रक्रिया’ विषयक अन्तरक्रियाका कार्यक्रमका वक्ताहरुले प्रज्ञा–प्रतिष्ठान गाभ्नुभन्दा पनि थप गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए।
नेकपाका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई बजेट भाषणमा प्रज्ञा–प्रतिष्ठान गाभ्ने कुरा उपयुक्त नभएको बताए। “विसं २०६२/६३ को जनआन्दोलनमा कला, साहित्य र सांस्कृतिक क्षेत्रले खेलेको भूमिकास्वरुप प्रज्ञा–प्रतिष्ठान खोलिएको छ, यसलाई गाभ्ने कुरा किमार्थ हुन सक्दैन”, उनले भने।
मुलुकको आवश्यकता र औचित्य भएको कारण प्रज्ञा–प्रतिष्ठान स्थापना भएको उनको भनाइ थियो। अध्यक्ष राईले प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञको नियुक्ति गर्दा प्रज्ञा–प्रतिष्ठान बुझेको व्यक्तिलाई गर्नुपर्ने बताए।
नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले कर्मचारीतन्त्रका कारण तीन प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने धारणा राखे। सरकारले कला, साहित्य, संस्कृतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धन गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए।
कार्यक्रममा नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामा, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाललगायतले देशको कला–संस्कृतिलाई विश्वमा चिनाउने थलो प्रज्ञा–प्रतिष्ठान भएकाले यसलाई एकापसमा गाभ्न नहुने धारणा राखे।