४ दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग सुचारु
आजको खबर | प्रकाशित : २०७५ साउन १८ गते १३:२४

नुवाकोट । चार दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग आज साँझबाट सञ्चालनमा आएको छ। पासाङल्हामु राजमार्गको त्रिशूली बेत्रावती खण्डको विदुर नपा–१० तिरतिरेमा गएको पहिरोले चार दिनसम्म अवरुद्ध सडकको पहिरो हटाएपछि आज साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
सडक गत मंगलबार बिहान पहिरो गएपछि अवरुद्ध भएको थियो। पहिरोको कारण रसुवा र राजधानी काठमाडौँ बीचको सडकयात्रा रोकिँदा सयौँ यात्रुले सास्ती झेल्नु परेको थियो।
सडक खुलेपछि पहिरोको कारण रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेसी सडकको मनकामनामा पहिरोका कारण सडक अवरुद्ध भएकाले कारण वैकल्पिक सडकसमेत सञ्चालन नहुँदा सयौँ सवारीसाधन नुवाकोटमा रोकिएको थियो।
राजधानी जाने क्रममा चार दिनदेखि पहिरोको कारण नुवाकोटमा रोकिएका रसुवा काँग्रेसका नेता लामाकार्पु तामाङले त्रिदेशीय राजमार्ग भएकाले यस्ता पहिरोको सम्भावित जोखिमस्थलहरुलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने र पहिरो गएमा तत्काल हटाउनुपर्ने विचार व्यक्त गरेका छन्।
तिरतिरेको पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन पहिरोलाई दीर्घकालीन रुपमा रोक्ने उपाय वडाध्यक्ष गणेशकुमार नेपालले बताए।