पहिरोको पिर : हिउँदमा जाजरकोट, वर्षामा रुकुम

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते ५:५५

जाजरकोट । बर्सेनि वर्षायाम सुरु हुने बित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ । स्थानीय नलगाड नगरपालिका–१३ ओलगुत्ताका बासिन्दा वषौँदेखि यसरी नै बसोबास गर्दै आएका हुन् ।

असार, साउन र भदौ महिनामा करीब ५० घरधुरीका बासिन्दा आफ्नो घर र जग्गा छाडेर जीवन बचाउन रुकुम आठबीसकोट नगरपालिकाको वडा नम्बर ६ मा बस्दै आएका छन् । पानी पर्ने बित्तिकै घरमाथि रहेको ठूलो पहाडबाट ढुंगा खस्ने र पहिरो आउने डर भएकाले घर छाड्न बाध्य हुनुपरेको स्थानीय तेजबहादुर विकले बताए। यस ठाउँमा पटक– पटक पहिरो आएर एकदर्जन मानिसको मृत्यु भइसकेको छ ।

पहिरोका कारण यहाँका बासिन्दाले घाँस, दाउरा गर्न र घरपालुवा जनावरलाई चरनका लागि लैजान पनि डराउने गरेको उनको भनाइ थियो । जोखिममा रहेका यो बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न कुनै पहल नहुँदा उनीहरू बर्सेनि घर छोड्न बाध्य भएका हुन् । पानी नपरेको समयमा दिउँसो गएर घरको काम गर्ने तर सुत्न भने रुकुम नै आउने गरेको अर्का स्थानीय शुक्रराज सिंहले जानकारी दिए ।

यहाँ रहेको स्वास्थ्य संस्था र विद्यालयसमेत माथि रहेको पहाडबाट पहिरो आउँछकी भनेर हेर्दै काम गर्नुपरेकोे शिक्षक भोलीप्रसाद विष्टले पिडा सुनाए । सञ्चार सेवासमेत भरपर्दो नभएको यस ठाउँमा कतिबेला के हुन्छ भन्न नसकिने उनको भनाइ थियो । भेरी नदीको किनारमै रहेको यो बस्ती जाजरकोटको अति विकट स्थान मानिन्छ ।

२०७५ साउन १९ गते ५:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर