पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते १६:५१

रत्ननगर, १९ साउन – विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझ ५ः३० बजेबाट दुईतर्फी नै सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ घुमाउने र इच्छाकामना गाउँपालिका– ६ स्थित जलवीरेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालन भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घुमाउनेमा बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको थियो ।

गाडीको चाप अत्यधिक भएपछि बीचमा अड्किएको गाडी पठाएर पुनः गाडी रोकी पहिरो पन्छाएपछि दिउँसो सो स्थानमा २ः४५ बजे सडक खुलाइए पनि जलवीरेमा पुनः पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको थियो ।इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा २ः५५ बजे खसेको पहिरो हटाएर साँझ ५ः३० बजेबाट भने दुईतर्फी नै सडक खुलाइएको प्रहरीले जनाएको छ । अहिले बिहानदेखि रोकिएका सवारीहरु गन्तव्यतर्फ गइरहेको छ । यो वर्षातमा नारायणगढ–मुग्लिन सडकमा पटक पटक पहिरा खस्दा यात्रु प्रभावित हुँदै आएका छन् ।

२०७५ साउन १९ गते १६:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर