जोशी आजबाट बिदा बस्ने, मिश्रले पेशी तोक्ने
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते २:४१

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि उनी आजदेखि बिदामा बस्ने भएका छन्।
कायममुकायम प्रधानन्यायाधीश जोशी बिदामा बसेसँगै वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि पेशी तोक्नेछन्।
रोलक्रमका आधारमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले १ सय २० दिन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हालेका थिए । सर्वोच्चमा नयाँ प्रधानन्यायधीश नियुक्त भएपछि कायममुकायम प्रधानन्यायाधीश जोशीले राजीनामा दिने चर्चा छ। उनले राजीनामा नदिए न्यायाधीश भएर काम गर्न सक्ने स्रोतले जनाएको छ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली २०७४ चैत्र १ गते बर्खास्ती भएसँगै चार महिनादेखि सर्वोच्च अदालत नेतृत्व विहीन छ। जोशीले राजिनामा दिएको र मिश्रको नाम प्रधानन्यायाधीसमा अनुमोदन भएको खण्डमा मिश्रले आगामी पुससम्म जिम्मेवारी सम्हाल्नेछन्।
यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन्। उनले भने, ‘मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाइँदै लगिएको बुझेको छु । आफ्नो अभीष्ट पूरा गर्न केही तत्वहरु सक्रिय भएर लागे ।’