जाजरकोटमा पहिरोले तीन घर पुर्यो, उद्धारकार्य जारी
आजको खबर | प्रकाशित : २०७५ साउन २० गते ३:३६

जाजरकोट । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् ।
सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्षद्वारा पहिरो पीडितलाई सहयोग
यसैगरी जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गरेका छन् ।
जिल्लाको जुनिचाँदे गाउँपालिका छिर्कमा पुगेर अध्यक्ष केसीले उपचारका लागि व्यक्तिगत रकम उपलव्ध गराएका हुन् । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा साउन ३ गते घरमा सुतिरहेका एकै घरका तीन घाइते भएका थिए भने दुईको मृत्यु भएको थियो । घाइते हर्कबहादुर बुढा र उनका दुई छोरा, छोरीलाई जीवन निर्वाह गर्न भन्दै व्यक्तिगतरूपमा रु २५ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष केसीले बताए।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार संभव नभए थप उपचारका लागि गाउँपालिकाले बाहिर उपचार गराउन सहयोग गर्ने बताए । पीडितलाई जिल्ला दैविक प्रकोप समितिले रु दुई लाख १६ हजार उपलब्ध गराइसकेको छ ।
पहिरोमा परी ५५ वर्षीय ललि बुढा, उनका नातिनी नौँ वर्षीया सिर्जना बुढाको पहिरोले घर पुरिदा मृत्यु भएको थियो । रासस