गंगामायाका छोरा नुरप्रसादलाई झिकाउन अदालतको आदेश

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते १४:५२

चितवन । जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ।

अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो। शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पुर्याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश दिएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए।

यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेको थियो । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो।

अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेका अनुसार म्याद जारी गर्दा स्वयं व्यक्ति, नभेटिए घरका जहान, त्यो पनि सम्भव नभए घरको मूल ढोकामा म्याद टाँस गर्नुपर्ने हुन्छ। यसअघि रित नपुगेका कारण पुनः म्याद जारी गर्न आदेश भएको हो। घिमिरेका अनुसार भदौ ४ गते अधिकारीलाई अदालतमा हाजिर हुने गरी म्याद जारी गरिने भएको छ।

अदालतमा आज वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस बसेका थिए। त्यसैगरी प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गरे।

२०७५ साउन २० गते १४:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर