इन्डोनेशियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १:२४

बीबीसी । इन्डोनेशियाको लोम्बोक टापुमा आइतवार फेरि शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८२ जनाको ज्यान गएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले बताएका छन्।
विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार सयौँ मानिस घाइते भएका छन्। ७ म्याग्निच्युडको भूकम्पकाबाट सयौँ भवनमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ।
छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ।
समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोक एक हप्ताअघि पनि भूकम्प गएको थियो। अघिल्लो भूकम्पमा कम्तीमा १६ जनाको ज्यान गएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार आइतवारको भूकम्पले लोम्बोकको १० किलोमिटर उत्तरतिर केन्द्रविन्दु बनाएको थियो।
भूकम्प लगत्तै सुनामी आउने चेतावनी जारी गरिएको थियो। तर केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो।
इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका एकजना प्रवक्ताले लोम्बोक टापुको प्रमुख नगर माताराममा थुप्रै घरहरूमा क्षति पुगेको बताए।
उनका अनुसार क्षति पुगेकामध्ये अधिकांश कमसल निर्माण सामग्रीबाट बनेका घरहरू छन्। मातारामका बासिन्दाले एउटा शक्तिशाली झट्का महसुस गरेपछि मानिसहरू घरबाट भाग्न थालेको बताएका छन्।
इमान नाम बताउने एक स्थानीयवासीले भने, तत्काल सबै मानिसहरू घर बाहिर निस्के, सबैजना अत्तालिएका थिए।
मातारामको अधिकांश भागमा विद्युत् आपूर्ति बन्द भएको छ।
भूकम्पपछि बालीस्थित एउटा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकाली सडकमा पालभित्र चिकित्सकहरूले उपचार गरेका थिए।