कानूनमन्त्री नेतृत्वको टोली पहिरो प्रभावित क्षेत्र जाजरकोटमा
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते ७:०१

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली सोमबार पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो ।
आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार रु २५ हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरिने मन्त्री भण्डारीले जानकारी दिए। ‘प्राविधिकसहितको टोली लिएर घटनास्थल जाजरकोट जाँदैछौंँ, त्यहाँ पुगेर घटनाको विस्तृत अध्ययन गर्छौं र पीडित परिवारका लागि राख्न लायकको ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था मिलाउँछौँ,’ उनले भने। त्यसका साथै जोखिमस्थलको अनुगमन गरी त्यस क्षेत्रका घरपरिवारलाई पनि वैकल्पिक व्यवस्था मिलाइने कानूनमन्त्री भण्डारीले बताए।
मन्त्री भण्डारीसहित जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्यत्रय गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री पनि प्रभावित क्षेत्रतर्फ गएका छन् ।रासस