बङ्लादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि सरकारले बनायो कडा कानुन
आजको खबर | प्रकाशित : २०७५ साउन २१ गते १३:१५

ढाका । सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ। ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिए। प्रस्तावित कानूनको मस्यौदामा दोषीलाई धरौटीमा छुट्न नमिल्ने र पाँच बर्षभन्दा बढी समय जेल सजाय हुने व्यवस्था गरिएको छ।
बङ्लादेशको अहिलेको कानूनमा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई धरौटीमा छुट्न मिल्ने र बढीमा तीन बर्ष जेल सजाय हुने व्यवस्था रहेको छ।सवारी चालकको लापर्वाहीका कारण आफ्ना दुई जना साथीहरूको मृत्यु भएपछि कडा कानूनको माग गर्दै बङ्लादेशमा केही दिनदेखि विद्यार्थीहरूले आन्दोलन गर्दै आइरहेका थिए।