अपहरण, फिरौती माग अनि हत्या : किन बचाउन सकेन प्रहरीले ?

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १:४७

काठमाडौँ। प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ। पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो ।

अपहरणकारीले आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेलगत्तै परिवारले प्रहरीलाई जानकारी गराएको थियो। निसानको डेराबाट उनको हत्या भएको ठाउँ केही किलोमिटर मात्रै टाढा पर्छ। बाक्लो बसोबास क्षेत्रमै लगेर निसानलाई लुकाए पनि फिरौती असुल्न नसकिने र घटना सार्वजनिक हुने डरले हत्या गरिएको प्रहरीको अनुमान छ।

सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो।

अदालतबाट अनुमति लिएर मात्रै फोन कल लोकेसन हेर्न मिल्ने प्रावधानविपरीत प्रहरीले आपतकालीन स्थिति भन्दै राति ११ नबज्दै अपहरणकारीको लोकेसन टेलिकम स्रोतबाट लिइसकेको थियो।

अपहरणकारीको लोकेसन मध्यपुर थिमि देखिएलगत्तै प्रहरी टोली उक्त क्षेत्रमा परिचालित भएको थियो। समयमै परिचालित भए पनि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाबीच समन्वय हुन नसक्दा खोजतलास प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।

‘महाशाखाले पाएको सूचना आफैंसँग राख्ने र परिसरले पनि त्यस्तै गर्ने समस्या देखियो,’ उनले भने, ‘सकेसम्म आफैं अपहरणकारी पत्ता लगाउँ भन्ने प्रतिस्पर्धाले अनुसन्धान कमजोर भएको हो ।’ प्रहरी परिसर काठमाडौं र भक्तपुरबाट झन्डै दुई सय प्रहरी परिचालित थिए भने महाशाखाले पाँचरपाँच जनाको चार टोली परिचालन गरेको थियो।

अपहरणकारीलाई प्रहरी गतिविधिबारे थाहा नहोस् भनेर सामान्यतः कोभर्ट (भेस बदलेर गरिने गोप्य कारबाही) गरिन्छ । तर आइतबार परिसर र महाशाखा दुवैले त्यसो गरेनन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार पेसेवर अपहरणकारीभन्दा आफन्त र चिनेजानेकाबाट हुने अपहरणमा अपहरितको हत्या गरिने सम्भावना बढी हुन्छ । ‘अपहरितले अपहरणकारीलाई चिनेको हुनाले घटना सार्वजनिक हुने डरले हत्या गर्ने गरेको देखिन्छ,’ उनले भने, ‘परिचितबाट हुने अपहरणका अधिकांश घटनामा अपहरितलाई बचाउन सकिन्न ।’ कान्तिपुर दैनिकबाट

२०७५ साउन २२ गते १:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर