वन डे सिरिज खेल्न नेपाललाई भारतको निम्तो, संसारकै दोस्रो ठूलो स्टेडियममा खेल्ने

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १२:२४

काठमाडौं। भारतको राष्ट्रिय क्रिकेट बोर्ड बीसीसीआइले नेपाली यु–१९ क्रिकेट टोलीलाई वन डे सिरिजको लागि निम्तो पठाएको छ । यो सिरिजमा नेपालले भारत, अफगानिस्तान र भारतकै नेशनल क्रिकेट एकेडेमीविरुद्ध खेल्नेछ । सिरिज सेप्टेम्बर १२ मा सुरु भइ सेप्टेम्बर १८ मा सकिनेछ । सिरिजमा कूल ८ खेल हुनेछन् ।

यो सिरिजमा नेपालले संसारकै दोस्रो ठूलो स्टेडियम इडन गार्डेन्समा भारतविरुद्ध खेल्नेछ । इडेन संसारकै दोस्रो ठूलो र भारतको सबैभन्दा ठूलो स्टेडियम हो । यहाँ ६८ हजार दर्शक अटाउने क्षमता छ । संसारकै ठूलो क्रिकेट स्टेडियम भने अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसिजी) हो । यहाँ १ लाख दर्शक अटाउँछन् । इडेनमा नेपालले भारतविरुद्ध सेप्टेम्बर १४ मा खेल्नेछ ।

सिरिजको पहिलो खेल सेप्टेम्बर १२ मा इडेन गार्डेन्समा भारतविरुद्ध अफगानिस्तान हुनेछ । यसैगरी सेप्टेम्बर १२ मै जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध नेपाल खेल्नेछ । सेप्टेम्बर १४ मा इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, तथा जादभपुर युनिभर्सिटीमा एनसीएविरुद्ध अफगानिस्तानको खेल हुनेछ । सेप्टेम्बर १६ मा इडेन गार्डेन्समा भारतविरुद्ध एनसीए र जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपाल खेल्नेछन् । सेप्टेम्बर १८ मा इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टिमबीच फाइनल खेल हुनेछ भने जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टिमबीच प्ले अफ हुनेछ ।

नेपालको अण्डर १९ टोलीका केही खेलाडी सिनियर राष्ट्रिय टोलीमा पनि छन् । यी खेलाडीलाई अण्डर १९ मा खेलाउने वा नखेलाउने भन्ने विषयमा निर्णय भइसकेको छैन । अहिले राष्ट्रिय टोलीबाट नेदरल्याण्डमा वन डे खेलेका सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेल उमेरका हिसाबले अण्डर १९ टोलीमा खेल्न पाउँछन् । यद्यपि सिनियर टोलीमा पुगिसकेका खेलाडीलाई अण्डर १९ नखेलाउने सोच बनाइएको प्रशिक्षक विनोद दासले बताए ।

सिनियर टिमको समय तालिका र अन्य सिरिजका हिसाबले पनि यी खेलाडी अण्डर १९ टिममा खेल्ने सम्भावना निकै कम छ । किनकि २९ अगष्टदेखि ४ सेप्टेम्बरसम्म नेपाली सिनियर राष्ट्रिय टोलीले एसिया कप छनोट खेल्नुपर्नेछ । एसिया कप छनोट खेलेको एक सातामै यी खेलाडी अण्डर १९ टोलीमा सामेल हुन गाह्रो हुन्छ । त्यसकारण यी खेलाडी सिनियर टोलीसँग प्रशिक्षणमा रहनुपर्नेछ । त्यसबाहेक अण्डर १९ सिरिज हुने भनिएको समयमा क्यारेबियन प्रिमिगर लिगको शीर्ष ४ टोलीको क्वालिफायर र इलिमिनेटर खेल हुने निर्धारित तालिका छ । सन्दिप लामिछाने यो लिग खेल्ने टोलीमा भएकोले उनको टोली शीर्ष ४ मा परेमा उनी उता खेल्न जाने सम्भावना बलियो छ ।

२०७५ साउन २२ गते १२:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर