बोको हराम समूहद्वारा ७ जना गाउँलेको हत्या

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:१४

नाइजेरिया । बोको हराम आतङ्ककारी समूहले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सात गाउँलेको हत्या गरेका छन्। प्रायः अशान्त नै भइरहने सो क्षेत्रमा गाउँलेहरुको हत्या गरिएको स्थानीय रक्षक र स्थानीय वासिन्दाले मङ्गलबार जानकारी दिएका छन्।

बोर्नो राज्यको राजधानी मैदुगुरीबाट १३ किलोमिटर उत्तरमा मुन्दुरी गाउँमा सोमबार अबेर राति ट्रक र मोटरसाइकलमा आएका व्यक्तिहरुले बन्दुक, रकेट र ग्रिनेड आक्रमण गरेका स्थानीय बासिन्दा अब्दुल्लाही बुनुले बताएका छन्।

“आक्रमणकारीले सात जनालाई कब्जामा लिए र शिरच्छेदन गरिदिए। त्यसपछि पूरा गाउँमा आगो लगाइदिए,” नागरिक रक्षक उमर अरीले एएफपी समाचार समितिलाई बताएका छन्। मारिनेमा गाउँ प्रमुख र उनकी पत्नी पनि रहेका छन्।

बोको हराम आतङ्ककारी समूह अहिले दुई समूहमा विभाजित छ, र पछिल्लो आक्रमणमा कुन समूहको संलग्नता रहेको थियो भन्ने प्रष्ट भएको छैन। कट्टरपन्थी इस्लामिक राज्य स्थापना गर्ने अभियानका साथ गत नौ वर्षदेखि जारी हिंसा र हत्यामा करिब २० हजार व्यक्तिको मृत्यु भइसकेको छ। यस हिंसाको क्रममा २६ लाख व्यक्ति विस्थापित भइसकेका छन्।

२०७५ साउन २२ गते १३:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर