नगद र गरगहन चोरी गर्ने महिला प्रहरी फन्दामा

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते १३:२१

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा ठूला धनराशीका नगद र गरगहन चोरी गर्दै आएकी एक महिला पक्राउ परेकी छिन्। गएको वैशाख यता छ वटा घरमा चोरी गरेको अभियोगमा उनीसहित खरिद गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नगद र गरगहना चोरी गरेको अभियोगमा मकवानपुर घर भई नवलपुरको गैँडाकोटमा व्यवसाय गर्दै आएकी ३२ वर्षिया शोभा विकलाई प्रहरीले पक्राउ गरेको हो। त्यसैगरी विकसँग सुन खरिद गरेका काठमाडौँ ओमबहालका सानुरत्न शाक्य र रश्मी ज्वेलर्स संगमचोक नारायणगढका लेखबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाले वैशाख १२ गतेदेखि हालसम्म छ घरबाट नगद र गरगहना गरी रु २५ लाख छ हजार बराबरको सुन र नगद चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। गत आर्थिक वर्षमा प्रहरीमा रु ३५ लाख एक हजार नगद, ४९ तोला सुन र १७ तोला चाँदी चोरी भएको भन्दै उजुरी परेको छ।

ढकालका अनुसार दिनको समयमा ती महिलाले चोरी गर्ने गरेको खुलेको छ। चोरी गर्नु अघि घरको निगरानी गर्ने गरेको बताएकी छिन्। सकेसम्म घरभित्रनै पुग्ने र त्यहाँ प्रयोग भएका तालाको अवस्था बुझेर त्यहि अनुसारका फोर्ने औजार प्रयोग गर्ने गरेको पाइएको छ।

शरीरलाई घुम्टोले ढाकेर ढोका र दराजहरुमा सामान्य क्षति गरी सुन र नगद मात्र चोर्ने गरेको भेटीएको छ। ढकालका अनुसार एक घरमा सीसी क्यामेरा देखेपछि ती महिलाले छाता ओडेर अनुहार नदेख्ने गरी चोरी गरेको खुलेको छ।

प्रहरीले विगत लामो समयदेखि नै ती महिला चोरीमा संलग्न भएको अनुमान गरेको छ। पक्राउ परेकी महिलाले गैँडाकोट नगरपालिका वडा नम्बर २ मा घर किनेर थकाली भान्छा घर सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। महिलाले आफूसँगै अर्को एक महिला रहेको भए पनि हाल सम्पर्कविहीन भएको जनाएको प्रहरीको भनाइ छ।

पछिल्लो पटक साउन ८ गते ती महिलाले भरतपुर महानगरपालिका वडा नम्बर १० लाहुरे चोकमा चोरी गरेपछि प्रहरीले नजिकैको रिजालचोकबाट उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ साउन २२ गते १३:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर