चीनलाई उपहार दिइने दोस्रो जोडी गैंडा साउन २९ गते काठमाडौँ ल्याइने

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १६:१७

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैंडा साउन २९ गते चितवनबाट काठमाडौँ ल्याइने भएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले ती गैंडा साउन ३१ गते काठमाडौँबाट चीन लैजाने छन्।
चिनियाँ पक्षले गैंडा बोक्नका लागि ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिसकेका छन्।

निकुञ्ज विभागले सम्पूर्ण प्रबन्ध गरी दुई दिनअघि साउन २९ गते गैंडा पठाउन पत्राचार गरेको ढकालले बताए । मौसममा खराबी देखिएकाले बाटोमा समस्या हुने भन्दै दुई दिन अगाडि नै यहाँबाट गैंडा पठाउन लागिएको हो । यसअघि पनि पहिलो जोडी गैंडालाई दुई दिनअघि नै काठमाडौँ लगेर राखिएको थियो ।

यसअघि असार २८ गते एक जोडी गैंडा चीन पठाइएको थियो । दोस्रो जोडी गैंडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम ‘सोल्टी’ र डेढदेखि दुई वर्षको पोथीको नाम ‘मितिनी’ राखिएको छ । निकुञ्जबाट नियन्त्रणमा लिइएका गैंडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ।

निकुञ्जका अधिकारीले गैंडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् । यसअघि झैँ पछिल्लो जोडी गैंडा पठाउँदा पनि निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाइनेछ । ढकालले थप एक जना निकुञ्जका कर्मचारी पनि पठाउन आग्रह गरिएको बताए।

पहिलो जोडी गैंडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् भने सहयोगी अझै फर्किएका छैनन् । ती गैंडालाई चीनको गोन्जाओको चिमिलोङ पार्कमा राखिएको छ । ती गैंडालाई छुट्टाछुट्टै खोरमा लगिएको भए पनि एक साता अघिदेखि एकै ठाउँमा राखिएको ढकालले बताए ।

दोस्रो जोडी गैंडालाई संघाइको जुलोजिकल पार्कमा राखिने छ । दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने वचन दिएका थिए । सोहीअनुरुप अहिले गैंडा पठाइएको हो । चीनमा दुई जोडी गैंडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देश पठाएका गैंडाको संख्या ३० पुग्छ।

२०७५ साउन २३ गते १६:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर