पुनः सडकमै थुप्रिन थाल्यो उपत्यकाको फोहोर

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते २३:३८

– शर्मिला पाठक

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर सडकमा नै थुप्रिन थालेको छ ।

एक महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न थालेको एक हप्ता नपुग्दै पुनः फोहर थुप्रिने समस्या देखापरेको हो । सडकको चोकचोकमा फोहर थुप्रिएकाले सर्वसाधारण र यातायाताका साधनलाई आवतजावतमा समस्या भएको छ ।

यता नियमित रुपमा फोहर व्यवस्थापन भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार गत असारको पहिलो सातादेखि टेकुमा मात्र फोहोर थुप्रिएकोे छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सह–सचिव ईश्वरचन्द्र मरहट्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

संयोजक मरहट्ठाका अनुसार विगत तीन दिनदेखि नियमित रुपमा पानी परेकाका कारण बाटोमा समस्या आउँदा फोहोर उठ्न नसकेको हो । बुधबारदेखि पुनः फोहोर व्यवस्थापन हुँदै आएको छ । कामपाका अनुसार आगामी छ महिनासम्म सिसडोलमा नै फोहोर व्यवस्थापन गर्न सकिन्छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थानभन्दा दुई किलोमिटरको दूरीमा पर्ने बञ्चरेडाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । तर काम भने अघि बढ्न सकेको छैन ।

फोहर व्यवस्थापनका लागि तत्काल वैकल्पिक स्थानको खोजी गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने सम्भावना बढेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताए ।
कार्यकारी निर्देशक ज्ञवालीका अनुसार हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बञ्चरेडाँडालाई व्यवस्थित गर्न लामो समय लाग्ने हुँदा त्यो भन्दा अघि नै फोहोर व्यवस्थापनको अल्पकालीन स्थान बनाउनुपर्छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर निस्कने गर्दछ । तीमध्ये काठमाडौँ महानगरपालिकाबाट दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गरेको कामपाले जनाएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

बुधबारबाट बञ्चरेडाँडालाई दीर्घकालीन रुपमा फोहर राख्ने स्थान बनाउने काम शुरु गर्ने हो भने पनि तत्कालका लागि व्यवस्थापन गर्ने स्थान आवश्यक हुन्छ । सिसडोलको फोहरमा करीब ४०÷५० मिटरमाथिसम्म निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले पहिरो जाने सम्भावना बढी रहेकाले अब त्यहाँ फोहर विसर्जन गर्नु उपयुक्त नहुने बताइएको छ ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ । वर्षात्को समय छ, नियमितजसो पानी परिरहने हुनाले कहिलेकाहीँ समस्या भएको हो । फोहर संकलन कार्य शुरु भए पनि केही समयदेखि रोकिएको फोहर व्यवस्थापनका लागि समय लाग्ने हुँदा सडकमा फोहोर देखिएको कामपाले जनाएको छ ।रासस

२०७५ साउन २३ गते २३:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर