निशान हत्या प्रकरण : विमानबाट ओर्लिएर सिधै आर्यघाट पुगे बाबु, छोराको शव हेर्नै सकेनन्

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १३:५०

भक्तपुर । एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट गए। वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका खड्का आजै नेपाल आएका हुन्।

काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउनप्लानिङबाट गत आइतबार भएको अपहरण र हत्यापछि शिक्षण अस्पतालबाट परीक्षण गरी राखिएको निशानको शव आफन्तले आर्यघाट ल्याएर दाहसंस्कारका लागि तयारी अवस्थामा राखेको थियो।

गत फागुनमा ४० दिनको बिदामा नेपाल आएर गत चैत १३ गते मलेसिया फर्किंदा छोरालाई खेलौना, कपडादेखि धेरै सामान ल्याइदिउँला भनेर गएका बाबु त्यही छोराको शव हेर्नुपर्दाको पीडा देख्नेलाई पनि निकै कठिन भएको थियो। रित्तो हातमा परिवार भेट्ने उत्साहलाई मार्दै एउटै मात्र छोराको सतगद्का लागि आर्यघाट पुगेका गणेशले छोराको अनुहार एक झलक हेरेपछि दोहोर्याएर फेरि हेर्न सकेनन्।

उनी भक्कानिएर रोएपछि आमा चमेली, हजुरबुबा जयबहादुर, मामा, आफन्त, छिमेकी, स्कूलका शिक्षक, शिक्षिकाको शोक र रुवावासीको दृश्य देख्ने आर्यघाट पुगेका जो कोहीको आँसु त्यसैगरी रसाए।

आमा चमेलीको बेलाबेलामा भएको बेहोसी र अरु आफन्तले व्यक्त गरेको रोदन र बेदनालाई हेर्न निकै कठिन देखिन्थ्यो। नातिको हत्याको खबर पाएर भोलिपल्ट नै मेलम्ची नगरपालिका-९ दोबाटोबाट काठमाडौँ आएका ५२ वर्षीय हजुरबुबा जयबहादुर खड्काले नातिलाई दागबत्ति दिँदा उनलाई मन थाम्न निकै गाह्रो भएको थियो। बालक निशानको शव जलिरहँदा आर्यघाटको दृश्य त्यस्तै कठिन थियो।

गत आइतबार बालकको आमा चमेलीको खाजा घरमा विगत तीन वर्षदेखि नियमितरुपमा खाजा खाँदै आएका सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले अपहरण गरी बालकको विभत्स हत्या गरेका थिए।

निशानको अपहरण गरी मध्यपुरथिमि नगरपालिका–७ नगदेश बुद्ध विहारसँगै रहेको श्याम लवटको आफ्नै डेरामा लगेर रु ४० लाख फिरौती मागेपछि बालक अपहरण भएको रहस्य खुलेको थियो। अपहरणपछि तामाङद्वयले बालकलाई धेरै पीडा दिएर विभत्स तरिकाले हत्या गरेकोे प्रहरीको अनुसन्धान र अस्पतालको शव परीक्षणबाट खुलेको छ।

शव परीक्षणअनुसार बालकको घाँटीको श्वासनलीको भित्रसम्म रुमाल कोचिएको पाइएको प्रहरीले जानकारी दिएको छ। अपहरणको भोलिपल्ट सोमबार बालकलाई पुरेको स्थानबाट प्रहरीले शव झिक्दाको अवस्था पनि निकै दर्दनाक थियो।

बालकको मुखमा रुमाल र प्लाष्टिक कोचिएको, हात र खुट्टा बाँधिएको, घाँटीमा रुमालले कसेको, करीब तीन फिटको खाडलमा टाउँको तल बनाएर हातखुट्टा र जीउलाई एउटै डल्लो बनाएर विभित्स तरिकाले पुरिएको अवस्थामा प्रहरीले बालकको शव झिकेको प्रहरी र स्थानीय प्रत्यक्षदर्शी बताउँछन्।

हाइल्याण्ड इङ्लिस स्कूलमा कक्षा ६ मा अध्ययनरत निशानका मामा मीनप्रसाद सापकोटा दाहसंस्कार गरेर फर्किए पनि बालकका आमा चमेली, बाबु गणेश, दुई दिदीलगायत आफन्तलाई सम्हाल्न र सम्झाउन निकै गाह्रो भएको बताउछन्।

आफन्तले अपहरणकारी बस्दै आएको घरका मालिक श्याम लवट र सोही घरमा बस्नेले बच्चालाई कोठामा राख्दा, बच्चा चिच्याउँदा, कराउँदा, हत्या गर्दा, नजिकै लवटकै बन्दै गरेको नयाँ घरको जगमा लगेर बालकलाई पुर्दासमेत थाहा नपाउनु कमजोरी भएको बताए।

आफ्नो घरमा भाडामा बस्नेको पूरै जानकारी नलिने, घरमा बस्नेले के गर्दैछन् भन्ने कुरा बेलाबेलामा जानकारी नलिने, घरमा बस्नेले जे गरे पनि बेवास्ता गर्नु घर मालिकको कमजोरी भएको बालकका आफन्त बताउँछन्। आर्यघाटमा आफन्तले अपहरण गरेर हत्या गर्नेका लागि सरकारले मृत्युदण्डसम्मको कानून ल्याउनुपर्ने मागसमेत गरे।

अपहरणमा संलग्न दुई तामाङको भने गत सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घ्याम्पेडाँडा जाने बाटो नजिकै जंगलमा प्रहरीको गोली लागी मृत्यु भएको थियो। घटनाका बारेमा सरकारले छानबिन समिति बनाएर छानबिन गर्ने जनाएको छ।

२०७५ साउन २४ गते १३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर