अब शारीरिक सम्पर्कबाट शिशु जन्मे स्वतः विवाह हुने, दाइजो माग्नेलाई कडा कारबाही

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १६:१५

काठमाडौँ । मुलुकी अपराध संहिता ऐन २०७४ आँउदो भदौ १ गतेदेखि लागू हुने भएको छ । मुलुकी ऐन लागू भएपछि दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाही हुने भएको छ । उक्त ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख गरिएको छ।

ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको शर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ । यदि यसरी दाइजो मागेमा वा लेनदेनको शर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ।

विवाह गरिसकेपछि दाइजो वा सम्पत्ति मागेमा वा त्यसको निहुँमा दुलही वा उसको नातेदारलाई हैरानी दिएमा, सताएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म कारवाहीको व्यवस्था गरिएको छ।

यस्तै , मुलुकी अपराध (संहिता) ऐनमा विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । बहुविवाह गरे ५ वर्षसम्म कैद हुन सक्ने उल्लेख छ। त्यस्तै विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ।

यस्तै २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद हुने व्यवस्था पनि गरिएको छ । मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ ।

मुलुकी देवानी (संहिता) ऐन २०७४ मा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख गरिएको छ।

२०७५ साउन २४ गते १६:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर