अमेरिका : अन्तरिक्ष फौज गठन गर्ने प्रस्ताव प्रस्तुत

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते २:३४

बिबिसी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नयाँ स्पेस फोर्स अर्थात अन्तरिक्ष फौजबारेका विवरणहरू सार्वजनिक गर्दै अब उनकै शब्दमा ‘नयाँ युद्धभूमि’को तयारीमा जुट्ने बेला आएको बताएका छन्।

उनले सन् २०२० सम्ममा सेनाको छैठौँ साखाको निर्माण गर्न र पाँच वर्षको लागि आठ अर्ब डलर लगानी गर्ने प्रस्ताव पारित गर्न अमेरिकी कंग्रेसलाई आग्रह गरेका छन्।

अन्तरिक्षमा उत्पन्न हुन थालेका खतराहरूको चर्चा गर्ने क्रममा उनले चीन र रुसले अन्तरिक्षको कक्ष नजिकै आफ्ना भूउपग्रह ल्याउन थालेको बताए। उत्तर कोरिया र इरानबाट समेत खतरा उत्पन्न हुनसक्ने उनको भनाइ छ।

त्यस्ता क्रियाकलापका कारण अमेरिकी अन्तरिक्ष प्रणालीहरूमाथि अन्तरिक्षमा अभूतपूर्व खतराहरू सृजना भइरहेको उनले बताए।
सेनाको छैठौँ शाखा गठनका लागि योजनाहरू बनाउँदै उपराष्ट्रपति पेन्सले संसदलाई अन्तरिक्ष सुरक्षा प्रणालीका लागि अर्को पाँच वर्षमा ८ अर्ब डलर लगानी गर्ने प्रस्ताव पारित गर्न आह्वान गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्ष फौज गठन गर्ने आफ्नो आशय रहेको बेलाबेला बताउँदै आएका छन् र अहिले उपराष्ट्रपति माइक पेन्सले पेन्टागनमै गएर त्यसबारे प्रशासनको दृष्टिकोणबारे बोलेका हुन्।

उनले आफ्नो योजना नयाँ पुस्ताको नयाँ प्रविधिमा आधारित निष्क्रिय पार्न नसकिने ठाउँको पहिचान गर्ने (जिपिएस) र सञ्चार भूउपग्रहको निर्माण गर्ने रहेको बताएका हुन्।

त्यसका साथै उनले सानो क्षेप्यास्त्रको सूचना दिने कौशलको विकास गर्ने आफ्नो योजनामा रहेको बताएका छन्।

पेन्सले अमेरिकाका प्रतिद्वन्द्वीहरूले पहिला नै अन्तरिक्षलाई लडाईँ गर्ने युद्ध क्षेत्रमा परिणत गरिसकेको बताउँदै अमेरिका यो चुनौतीबाट पछि नहट्ने बताएका हुन्।

अमेरिकाको नयाँ स्पेस फोर्स योजनाबारे कांग्रेसमा बहस हुन बाँकी छ।

अहिलेको योजना अनुसार नै भए सेना, नौसेना, हवाइफौज, विशेष फौज, तटरक्षकसहित अन्तरिक्ष फौज छैठौं सैन्य सेवा हुनेछ।

तर स्पेस फोर्स योजनाका आलोचकहरू भन्छन् त्यो कार्य अहिले नै अमेरिकी एअर फोर्सले कुशलतापूर्वक गरिरहेको छ र नयाँ आयोजनाले प्रशासनको खर्च झनै बढाइदिनेछ।

२०७५ साउन २५ गते २:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर