छोराको मृत्युलाई पुलिसले दुर्घटना भन्यो, पिताले गरे डेढ वर्ष अनुसन्धान, खुल्यो हत्याको रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ साउन २५ गते १४:५७

एजेन्सी। डेढ वर्ष पहिले एक १८ वर्षका युवकको मृत्यु भएको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले यो मृत्यु दुर्घटनामा भएको भन्यो र त्यही अनुसार केस बन्द गरिदियो । तर, ती युवकका पिताले हार मानेनन्। उनले डेढ वर्षसम्म निरन्तर अनुसन्धान गरे। अहिले यो घटनामा नयाँ मोड आएको छ । पिताले अनुसन्धानमा प्राप्त गरेका तथ्यहरुको आधारमा क्राइम ब्रान्चले हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

यो रोचक घटना भारतको राजधानी दिल्लीको हो। यहाँका ब्रह्मप्रकाशका १८ वर्षका छोरा जतिनको दिल्ली रेलवे स्टेशनमा लाश भेटिएको थियो। दिल्ली पुलिसले यो घटनामा जतिनको रेल दुर्घटनामा मृत्यु भएको बताएको थियो। तर, ब्रह्मप्रकाशलाई यो कुरा चित्त बुझेन। २१ डिसेम्बर २०१६को दिन साँझ साढे ४ बजे जतिनको मोवाइलमा एउटा फोन आएको थियो। केही समयमा उनी घरबाट गए तर फर्किएनन्। भोलिपल्ट दिउँसो ३ बजे सब्जीमण्डी रेलवे स्टेशनबाट ब्रह्मप्रकाशलाई एक फोन आयो।

रेलवे पुलिसका सब इन्स्पेक्टर वेदप्रकाशले जतिनको रेल दुर्घटनामा मृत्यु भएको बताए। ब्रह्मप्रकाश घटनास्थलमा गएपछि पुष्टि भयो कि शव उनको छोराकै थियो । पोष्टमार्टमपछि शव ब्रह्मप्रकाशको जिम्मा लगाइयो। ब्रह्मप्रकाशलाई भने रेलवे पुलिसले भनेको दुर्घटनाको कुरा उचित लागेन । शरीरमा चोटको निशान र शवको स्थिति देख्दा उनलाई छोराको हत्या भएको शंका लाग्यो। किनकि ब्रह्मप्रकाश आफू पनि पुलिस थिए र यस्ता धेरै घटनामा अनुसन्धान गरिसकेका थिए । ब्रह्मप्रकाश असिस्टेन्ट सब इन्सपेक्टर थिए।

पोष्टमार्टम रिपोर्टमा उल्लेख भएका चोट र शरीरका चोट मेल खाँदैनथे । छोराको शरीरमा रहेका कपडा नच्यातिएको देख्दा ब्रह्मप्रकाशको शंका अझै गहिरो भएको थियो किनकि दुर्घटना भएको भए कपडा च्यातिनुपथ्र्यो । यसका अलावा यदि रेल दुर्घटना भएको भए रेलवेका ड्राइभरले त्यही दिन दुर्घटनाको केस किन फाइल गरेनन् भन्ने समेत प्रश्न ब्रह्मप्रकाशको दिमागमा आयो । त्यसपछि उनी आफैं छोराको मृत्युको अनुसन्धानमा जुटे।

जाँचका क्रममा ब्रह्मप्रकाशले पाए कि जतिन छिमेकमा बस्ने साथीसँग फोनको माध्यमबाट सम्पर्कमा थिए। सोधपुछमा ती साथीले भने कि उनी जतिनसँग हैदरपुर मेट्रो स्टेशनमा भेटेका थिए। यी दुईले भेट्नुपर्ने कारण के थियो भन्ने बारे भने उनले बताएनन् । जतिन जुन दिन घरबाहिर गएका थिए त्यस दिन फोन गर्ने यही साथी थिए । उता रेलवे पुलिसले जतिनका साथीको लोकेशन पनि ठिकसँग जाँच गरेको थिएन।

जाँचपछि ब्रह्मप्रकाशले पुलिस आयुक्तलाई पत्र लेख्दै केसको नयाँ तरिकाले जाँचको माग गरेका थिए। उनले केस क्राइम ब्रान्चमा सार्न माग गर्दै रेलवे पुलिसको जाँचमा विश्वास नभएको बताए। उनको यो पत्रपनि केस क्राइम ब्रान्चमा पुगेको छ। क्राइम ब्रान्चले अब यो केसलाई हत्याको केसको रुपमा अनुसन्धान अगाडि बढाएको छ।

२०७५ साउन २५ गते १४:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर