९० घण्टा प्रवचन दिएर ‘विश्व रेकर्ड’ राख्ने तयारीमा केसी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २६ गते ९:०८

काठमाडौं । योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने भएका छन्।

नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी गराए ।

यसअघि भारत केरलाका केपी भल्सराजनको ८१ घण्टा १६ मिनेट निरन्तर प्रवचन दिएको विश्व कीर्तिमान कायम भएको छ । निरन्तर प्रवचनको क्षेत्रमा आफूले नयाँ कीर्तिमान राख्ने तयारीमा लागेको केसीले बताए । उनले आगामी भदौ ११ गते बिहान ६ बजेदेखि गोकर्णेश्वर नपा–५ जोरापाटीस्थित इस्टकोल माविमा बेलायतबाट आउने गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिधिनिकाबीच आफ्नो प्रवचन शुरु गर्नेछन्।

सतहत्तर जिल्ला र भारतको छ वटा प्रान्त गरी कूल १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरेका योगसाधक केसीले यसअघि २१ दिनको जलउपवास, छ महिनाको मौन साधना र नौ दिनको भूतपस्यासमेत गरिसकेका छन् । विश्वकै लामो प्रवचन दिई विश्व कीर्तिमान राख्ने उद्देश्यले उनले यसअघि नै ८८ घण्टा लामो प्रवचन दिएका थिए । तर प्राविधिक समस्याका कारण उनको उक्त प्रवचन गिनिज बुकमा कायम हुनसकेको थिएन ।

विश्वको सबैभन्दा लामो दाबी गरिएको वक्तव्य÷प्रवचनका बारेमा जानकारी दिन शनिबार यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले विश्व कीर्तिमान राख्न गरिने यस प्रकारको कर्मले नेपाल र नेपालीको शिर उँचो बनाउने बताए ।

सो अवसरमा काँग्रेस नुवाकोटका सभापति जनदीशनरसिंह केसी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले विश्वको सबैभन्दा लामो प्रवचन दिई नेपाल र नेपालीको तर्फबाट विश्व कीर्तिमान कायम राख्न योगसाधक केसीलाई शुभकामना दिएका थिए ।रासस

२०७५ साउन २६ गते ९:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर