अब जुवा खेल्नेलाई ३ वर्ष, बाजी थाप्नेलाई एक वर्ष जेल !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते ०:१३

काठमाडौं । आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने, बाजी थाप्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुनसक्छ ।

मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ ।

जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

अहिलेसम्म जुवा खेल्नेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको छ । जसमा पहिलोपटक जुवा खेल्नेलाई २ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनासम्म कैद र तेस्रो पटक पनि खेलेमा एक वर्षसम्म कैदको व्यवस्था जुवा ऐनमा गरिएको छ ।
जुन ज्यादै न्यून सजायको व्यवस्था हो ।

अब भने कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन । सरकारी अनुमति लिएर चिठ्ठा सञ्चालन गरे पनि काुनन लाग्ने छैन । सरकारको अनुमति विना चिठ्ठा कटाउन पाइने छैन ।

२०७५ साउन २८ गते ०:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर