खडेरीले सुक्नथाल्यो बाली नाली

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते ९:२७

पाँचथर । मध्य वर्खामा पनि पानी नपरेपछि पाँचथरको तुम्बेवा र कुम्मायक गाँउपालिकामा लगाइएको बाली, घाँस पात र रुख विरुवा सुक्न थालेका छन् । प्रशस्तै पानी पर्ने समयमा समेत पानी नपरेपछि तुम्बेवा र कुम्मायकका ७ ओटा वडाका अधिकांश क्षेत्रमा बाली नाली सुक्नुका साथै खानेपानीको चरम अभाव भएको छ ।

वर्षौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका साविकका रानीगाँउ, स्याबरुम्बा, यासोक, आङ्ना र मौवा गाविसमा खडेरीले बाली नाली सुकेको हो । यहाँ खानेपानीको चरम अभाव हुँदा गाई वस्तुलाई पानी दिन समेत मुस्किल पर्न थालेको छ । पानीको चरम अभाव हुने हिउँदको समयका लागि प्लाष्टिक पोखरी, प्लाष्टिकका ड्रम लगायतमा पानी जम्मा गर्ने समयमा वर्षा हुनै नसकेपछि स्थानीय चिन्तित बनेका छन् ।

वर्षा नहुँदा तुम्बेवा गाँउपालिकाको वडा नं. १, २ र ३ मा लगाइएका अन्नबाली सुकेर बल्ने अवस्थामा पुगेको तुम्बेवा गाँउपालिकाका प्रमुख होमनाथ थापाले वताए । असार पहिलो साता यता पानी पर्न नसकेको स्थानीयको भनाई छ । लामो समयसम्म खडेरी पर्दा यो सिजनमा लगाइएका अन्न बाली खेत, बारीमै नष्ट कृषकहरुको गुनासो छ ।

मकै, मस्याम, बदाम, बोडी लगायत बाली सुकेर नष्ट भएको तुम्बेवा २ का टंक खड्काले बताए । “मकै बारीमै सुकेर खोष्टा मात्रै बाँकी छ । त्यसरी सुकेको मकै बस्तुले समेत नखाँदा रहेछन” खड्काले भने “यो समस्या पहिलो पटक भोगिएको भने होइन ।” अघिल्ला वर्षहरुमा पटक–पटक खडेरीको समस्या भए पनि यस पटक लामो समयसम्म खडेरी परेर ठूलो समस्या आइपरेको खड्कोको भनाई छ ।

तुम्बेवाको ढुकुरे, देवान गाउँ, थेपाङ, चुहाडे, खैरेनी, पिपले लगायतका गाँउमा खडेरीले अधिकांश अन्नबाली र घाँस सुकेका छन् । त्यस क्षेत्रका करिव १२ सय घर परिवार खडेरी र खानेपानीको चरम समस्यामा रहेको गाँउपालिका प्रमुख थापाको भाई छ । “ठुलठुला टाँकीका रुख समेत सुक्न थाले पछि गाई बस्तुलाई खुवाउने घाँसको अभाव हुन थालेको छ” स्थानीय सहमान कार्कीले भने “न पानी पाइन्छ न त घाँस पात नै । वर्षायाममा उम्रने, हुर्कने, फल्ने सबै बोट विरुवा र घाँस पात सुकेपछि कसरी बाँच्ने भन्ने समस्या परेको छ ।”

गाँउपालिका प्रमुख थापाले चरम समस्यामा रहेका स्थानीयलाई सहयोग गर्न आग्रह गरे । थापाले यस समयमा उत्पादन हुने कुनैपनि वस्तु उत्पादन हुन नसकेपछि उक्त क्षेत्रमा भोकमरी लाग्ने खतरा रहेको वताए । उनले अनुगमन गरि तत्कालका लागि राहत दिने प्रकृया गाँउपालिकाले अघि बढाएको जानकारी दिए । गाँउपालिका प्रमुख थापाले पीडित कृषकहरुका लागि सहयोग गर्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय पाँचथरलाई पनि आग्रह गरिएको वताए ।

२०७५ साउन २८ गते ९:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर