मर्मत हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग
आजको खबर | प्रकाशित : २०७५ साउन २८ गते १३:१३

काठमाडौँ । असुरक्षित भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तालिका मिलाएर मर्मत भइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले तालिका बनाएर भएपनि सम्बन्धित निकाय मर्मत गर्न भन्ने निर्देशन दिएपछि मर्मत कार्य सुरु भएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा संसद्लाई जानकारी गराउदै मन्त्री अधिकारीले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमान सञ्चालनमा अवरोध नहुने गरी धावनमार्गको मर्मत भइरहेको बताए।
नेपाल वायु सेवा निगमसँग भएका विमान र सञ्चालनमा भइरहेका उडानका बारेमा जानकारी गराउँदै उनले निगमको प्रभावकारिताका लागि जनशक्ति व्यवस्थापन र प्रविधि विकासमा ध्यान दिइएको बताएका हुन्।
मुलुकको पर्यटन क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि मन्त्रालयले छानबिन गरिरहेको पनि मन्त्री अधिकारीले जानकारी दिए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भैरहवा विमानस्थलमा भइरहेका निर्माण र विस्तारका बारेमा भएका पछिल्ला कार्यका बारेमा मन्त्री अधिकारीले जानकारी दिए।