बन्दका कारण झापासहित देशभरको जनजिवन प्रभावित, बन्दमा कहाँ के भयो ? (देशभरको अपडेट)

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते ७:४६

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले जनजीवनमा केही कठिनाइ उत्पन्न भएको छ । देशका विभिन्न भूगोलमा बम फेला गरेका छन् । यातायातका साधनमा आगजनी भएका छन् ।

राजधानी काठमाडौँमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन् । तर निजी तथा सरकारी विद्यालय बन्द भएका छन्। कतिपय स्कुल र कलेजहरूले आज पढाई नहुने सूचना दिइसकेका छन्।

कहाँ के के भयो ? – संघीय राजधानी काठमाडौंको सतुङगलमा फेला परेको बम सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । बिहान स्थानीयले शंकास्पद बस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । काठमाडाैंकाे जमलबाट प्रहरीले विप्लबका २ कार्यकर्तालार्इ पक्राउ गरेकाे छ । काठमाडौंकै नयाँपाटीमा पनि बम भेटिएको छ । सडकमा राखिएको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ ।

भक्तपुरको लोकन्थलीमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । रातो प्लाष्टिकको झोलामा शंकास्पद बस्तु देखेपछि स्थानीयले सुरक्षा निकायमा खबर गरेका थिए । ललितपुरकाे कुपण्डाेलमा प्रेसर कुकर बम फेला परेकाे छ रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा पनि बम फेला परेको थियो । बम सेनाले निस्क्रिय पारेको छ ।

झापाको गौरादह नगरपालिका वडा नम्बर ७ सात स्थित वडा कार्यालयमा बम विस्फोट भएको छ । बाजुराको मार्तडीमा पनि शंकास्पद बस्तु फेला परेको छ ।नवलपरासीको गैँडाकोट भृकुटीचोकमा ट्रकमा आगजनी भएको छ । कपिलबस्तुको चनौटाबाट हेटौँडा आइरहेको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी भएको हो ।

मकवानपुरको थाहा नगरपालिका ११ पालुङमा काठमाडौं आउँदै गरेको भारतीय अनुदानको भन्सार छुटेर आएको नाअपस ४५ नम्बरको बसमा आगजनी भएको छ ।चितवनको भरतपुर, रिजाल चोकमा शंकास्पद बस्तु डिस्पाेज गरिएकाे छ ।नुवाकोटबाट काठमाडौं आउँदै गरेको तीन वटा ट्रकमा आगजनी भएको छ । छहरे टोखा सडक खण्डमा वा४ख ८५१६ नम्बरको सहित अन्य तीन ट्रकमा आगजनी भएको हो ।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पथ्थरडाँडामा यात्रुवाहक बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६२१ नम्बरको यात्रुवाहक बसमा पेट्रोल बम प्रहार भएको प्रहरी जनाएकाे छन्। पेट्रोल बम प्रहारबाट बसमा सवार रेशमबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोद ढुंगेलले जानकारी दिए। प्रहरीले बमप्रहार गर्ने समूहको खोजीकार्य गरिरहेको जनाएको छ।

यस्तै, कास्कीको पोखरामा नेपाल बन्दको असर परेको छ । मुख्य बजार पूरै बन्द छन् । स्कुल तथा कलेज चलेका छैनन् । बन्दका कारण गुरुङ समुदायको चाड ट्होंटे पर्व प्रभावित भएको छ । यस्तै, पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास १ स्थित रातो ठहरा पुलको छेउमा प्रेसर कुकर बम फेला परेको छ । बम सेनाको फस्ट राइफल गणले डिस्पोज गरेको छ । बम फेला परेपछि केहिबेर राजमार्गमा यातायात सञ्चालनमा रोक लागेको थियो ।

यस्तै , नुवाकोटको शिव पुरी गाउँपालिका वडा नं. ८ मा रहेको बोहरे खोलामा बालुवा बोकेर काठमाडौँ तर्फ जाँदै गरेको एउटा मिनिट्रकमा विप्लवका ७-८ जनाको कार्यकर्ताको समूहले आगजनी तथा दुई वटा मिनिट्रकमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त बहादुर कुवेरले जानकारी दिनुभयो ।

विप्लवको समूहले सडकमार्गमा गुडिरहेको बा ४ ख ८५१६ नम्बरको आइचर मिनिट्रकको अगाडिको भागमा पेट्रोल छर्केर आगजनी गरेर विप्लवको समूहले बा ५ ख र ३ बा ५ ख २१३२ नम्बरको मिनिट्रको सिसा ढुङ्गालेहानेर फोडेको चालकले बताएका छन् । विप्लव माओवादीले घटनाको जिम्मा लिँदै बन्दको ब्यवास्ता गरेमा अरू गाडीहरू समेत आगजनी गर्ने चेतावनी दिएको चालकहरूले बताएका छन् ।

उता ,नवलपरासी सुस्ता पूर्व २ गाडीमा अागजनि भएको छ । गैँडाकोट नगरपालिका २ को भृकुटी चोकमा राति रोकेर राखेकाे गाडीमा अागजनि भएको हो । गाडीमा पराल लोड गरेर राखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरको ट्रकमा राति साढे १ बजेको समयमा अागजनि भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस्तै , स्याङ्जामा बन्दका कारण जिल्लामा सरकारी एवं निजि विद्यालयका साथै कलेज बन्दभएका छन् भने बुटबलबाट पोखराको लागि छुटेका यातायातका सादन लाई भने प्रहरीले स्कटिङ गरेर गन्तब्यमा पठाएको छ । जिल्लाका मुख्य बजार पुतलिबजार, वालिङ, गल्याङ लगायतका बजार भने बन्द रहेका छन् । जिल्लाको ग्रामीण भेगमा चल्ने सवारी सादन भने सञ्चालनमा आएका छैनन् । जिल्लामा कुनै त्यस्तो अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ

तेह्रथुम विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव तेह्रथुममा पनि परेको छ। बन्दका कारण सदरमुकाम म्याङलुङबाट छुट्ने साना तथा ठुला सवारी साधनहरु ठप्प भएका छन्। बजार पसल पनि छिटफुट मात्र खुलेका छन्। उद्योगभन्दा तथा शैक्षिक संस्था समेत बन्द भएका छन्। बन्दका बेला कुनै क्षति नहोस भनेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

भैरहवाबाट छुट्ने लामो तथा छोटो दुरीका बसहरु भैरहवा बसपार्कमै थन्किएका छन् भने शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, बैंक वित्तीय संस्था बन्द रहेका छन्। बन्दका कारण भारतबाट आउने नेपाली सीमा नाका बेलहियामा अलपत्र परेका छन्।

किन गरियो बन्द ?- नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले चन्दा असुली प्रकरणमा पक्राउ गरेको छ । ७ करोड ?पैयाँ चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । आफ्ना नेताको रिहाइ माग गर्दै नेकपाले आन्दोलनका विभिन्न चरण अन्तर्गत मंगलबार देशभर बन्द गरेको हो । बन्दको प्रभाव काठमाडौंमा कम देखिएको छ । यातायातका साधन चलेका छन् । तर स्कुल कलेज भने बन्द छ । साभार : जनतासमाचार

२०७५ साउन २९ गते ७:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर