झापाको टिमाई खोलामा तस्करी बढ्यो, प्रहरीकै मिलेमत्तोको आशंका

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते ६:५७

झापा, शान्तिनगर । सरकारले वर्षाको समयमा असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन् ।

टिमाई खोलाबाट प्राकृतिक स्रोतको चरमदोहन भईरहेको भन्दै स्थानिय आक्रोशित भएका छन् । नदीबाट चरम रुपमा उत्खनन् भएका कारण पिउने पानीको मुहान सुक्दै गएको, नहर र पैनीका मुहान उठाउन समस्या भएको र बस्ती समेत जोखिममा परेको भन्दै स्थानिय आक्रोशित भएका हुन् । उनीहरुले नदिजन्य वस्तुको उत्खनन्मा प्रहरीको संलग्नता रहेको दाबी गरेका छन् ।

उक्त नदिबाट नदिजन्य वस्तुहरुको चरम दोहन भएको सुचना पाएपछि केहीदिन अघिमात्रै प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रदेश सांसद गोपाल बुढाथोकी लगायतको टोलि स्थलगत अनुगमनमा गएका थिए । स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै दोषीलाई कानुनको दायरामा ल्याउने बताए ।

प्राकृतिक वस्तुहरुको उत्खनन् भइरहदा स्थानियलाई प्रत्यक्ष असर हुने भएकाले सचेत भई राज्यलाई जानकारी दिन उनले आग्रह गरेका छन् । त्यस्तै प्रदेश सांसद बुढाथोकीले उत्खनन्का कारणले त्यस क्षेत्रमा भयावह स्थिती आउने बताए । नियम उल्लंघन गर्नेहरुलाई कानूनी प्रक्रियामा ल्याउन छोडेर हिसाव किताव मिलाउने प्रयास हुने गरेको गुनासो पनि सुनिँदै आएको भन्दै उनीहरुलाई पक्राउ गरेर सार्बजनिक अपराध सम्बन्धि मुद्धा चलाउने चेताबनी सांसद बुढाथोकिले दिएका छन् । सबैले नियमको पालना गर्नु पर्छ र नियमनकारी निकायले पनि नियमानुसार कारवाही गर्दछ उनले भने ।

यता गाउँपालिकाका प्रमुख रमेश कुमार भुजेलले स्पष्ट रुपमा यि अधिकार स्थानिय तहलाई आइनसकेको बताए । उनले नदिबाट उत्खनन् गरेर विभिन्न स्थानमा राखेको सामाग्रीहरु स्थानिय तहको जिम्मामा राखिने पनि जनाए ।

नदिजन्य वस्तु उत्खनन् गर्नका लागि भएका वैज्ञानिक अध्ययनअनुसार उत्खनन् नगरी जथाभावी उत्खनन् र निकासी भइरहेको सहभागीले बताएका थिए । ढुवानी व्यवसायी, उत्खनन्मा संलग्न व्यवसायी र प्रशासनको व्याक्तिगत स्वार्थका कारण नदिजन्य वस्तुको दोहन अनियन्त्रित रुपमा भइरहेको भन्दै स्थलगत अनुगमनमा अएका सहभागीले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय प्राकृतिक श्रोतमाथिको पहिलो अधिकार स्थानीयकै हुने तर स्थानीय बजारमा अभाव श्रृजना गरी उपभोक्तालाई ठग्ने र दोस्रो बजारमा बिक्री वितरण गरेर दोहोरो नाफा कमाउने प्रवृत्तिको रहेको पाइएको छ । त्यति मात्र होईन कि यस्ता काममा राजनीति गर्ने परम्परा पनि हाम्रो समाजमा रहेको स्थानीयको भनाई छ । राजनीतिक आग्रह पूर्वाग्रहले पनि अनेक समस्या आउने गरेका छन् । यस तर्फ पनि छानविन गर्न स्थानीयले माग गरे । स्थानियले नदिजन्य वस्तु रोक्न आग्रह गरेको तर अटेर गरि निरन्तर उत्खनन् भएको स्थानियले आरोप लगाएका छन् । सोही ठाँउमा रहेको सशस्त्र प्रहरीले पैसा लिने गरेको स्रोतको दाबी छ । तस्करीमा जनपद प्रहरीको पनि सेटिङ रहेको बताइएको छ ।

अर्कातिर पूर्वमा नियम विपरीत खोला दोहनको काम तीव्र रूपमा भइरेको छ । ठेकदारले कानुन विपरीत दुई वा सो भन्दा बढी शक्तिशाली जेसिभी मेसिन प्रयोग गरेर खोलाबाट जथाभाबी रूपमा गिट्टी, ढुङ्गा र बालुवा धमाधम निकाली रहेको पाइएको छ । यसरी ठेक्का लगाउँदा सामान्य त एउटा खोलामा एउटा भन्दा बढी जेसिभी प्रयोग गर्न पाइँदैन । तर ठेकदारले यो नियमको बेवास्ता गर्दै जथाभाबी एउटै खोलामा दुई वा दुईवटा भन्दा बढी जेसीभी प्रयोग गरिरहेको पाइएको हो ।

जिल्ला समन्वय समिति झापाका अनुसार जिल्लाका रतुवा, मेवा, बिरिङ्ग, टिमाई, कमल, देउनिया लगायतका दशवटा खोला ठेक्का लगाउने गरेको छ । ती मध्ये ६ वटा खोलामा एक–एक वटा गरी ६ मात्र जेसिभी लगाउन पाइने सम्झौता रहेको छ । जेसिभी लगाउँदा समेत एउटा खोलामा एक भन्दा बढी जेसिभी लगाउन नपाइने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

यसरी रातदिन नियम विपरीत खोलादोहन भइरहे पनि ठेक्का लगाउने निकायले कानुनको बेवास्ता गरेका कारण नियन्त्रण र अनुगमनमा समेत समस्या हुने गरेको छ । बढीमा ठेक्का लगाएपछि ठेकदारले मनपरी गरे पनि अनुगमन समिति चुपचाप भएको स्थानीयले बताए । यसको फाइदा लिँदै ठेकदारले भने नदीमा जथाभाबी उत्खनन् गरिरहेका छन् ।

ठेक्का लगाएपछि त्यसको मापदण्ड अनुसार भए नभएको हेर्ने जिम्मेवार पक्ष निदाएका कारण नदीमा जताततै ठुला खाल्डा हुने गरी एकै स्थानबाट सयौँ ट्रिपर ढुङ्गा बालुवा निकाली रहेका छन् । यता सक्झौता अनुसार रतुवा, मेवा, बिरिङ्ग, टिमाई, कमल, देउनिया खोलामा एक देखि डेढ मिटर भन्दा गहिरो बनाउन पाइने छैन भने चौडाई ३० मिटर देखि ४५ मिटर भित्रमात्र उत्खनन् गर्न पाइने नियम रहेको छ ।

जथाभाबी रूपमा नदीको उत्खनन् गरिँदा आसपासका बासिन्दा भने बर्षायाममा हुने बाढी कटानको जोखिममा पर्ने भन्दै चिन्तित भएका छन् । नदीमा धेरै गहिरो गरी जथाभाबी उत्खनन् गरिदैछ, यसले गर्दा हाम्रो खेतीयोग्य जग्गामा समेत पानीको श्रोत सुक्दै गएको उनीहरुको भनाई छ । यसैबिच पैनीका प्रतिनिधिहरु, स्थानिय लगायतले जिल्ला प्रशासन गएर उक्त नदिबाट नदिजन्य सामाग्रीहरु निकाल्न निषेध गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

२०७५ साउन ३० गते ६:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर