क्याथोलिक गिर्जाघरमा सयौँ किशोरीहरूको यौनशोषण भएकाे खुलासा

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १०:०३

अमेरिकाको पेन्सिल्भेनियाका अधिकारीहरूले त्यहाँको रोमन क्याथलिक गिर्जाघरले वर्षौँदेखि बालबालिकामाथि हुँदै आएको यौनशोषणका सयौँ घटनाहरू ढाकछोप गर्न खोजेको बताएका छन् । एउटा बृहत् न्यायिक समितिले छानबिनपछि तीन सय इसाई क्लर्जी र एक धर्मगुरुको पनि नाम उल्लेख गरी १४ सय पृष्ठको प्रतिवेदन प्रकाशित गरेको छ ।

सो प्रतिवेदनमा छवटा धार्मिक प्रदेशका एक हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीहरू उनीहरूबाट यौन उत्पीडनको सिकार भएको जनाइएको छ । उजुर परेका कतिपय घटनाका कागजपत्र हराएको र केही पीडितहरू मुद्दा दायर गर्न डराएका कारण वास्तविक पीडितको सङ्ख्या निकै धेरै हुन सक्ने एउटा न्यायिक समितिले बताएको छ ।

पीडितहरूलाई नङ्ग्याउने, पिट्ने र बलात्कार गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । अठार महिनाका बच्चादेखि किशोरीहरू गिर्जाघरका क्लर्जी र धर्मगुरुको दुर्व्यवहारमा परेको विवरण सो समितिले दुईवर्षे अनुसन्धानको क्रममा भेटिएको छ ।

तर त्यस्ता घटना र तिनमा संलग्न क्लर्जी तथा धर्मगुरुका गतिविधिहरू लुकाउने र कसैले विरोध गरे भनेपनि उनीहरूको बचाउमा गिर्जाघरका उच्चपदस्थअधिकारीहरू लागेको बृहत् इजलासको आरोप छ ।

निकै लामो समयअघिका कैयौँ मुद्दाहरूमाथि कानुनी कारबाही गर्न गाह्रो भएको अधिकारीहरूको भनाइ छ । पेन्सिल्भेनिया राज्यका महान्यायाधिवक्ता जोस साफिरोले बालबालिकाको यौनशोषणलाई गिर्जाघरका अधिकारीहरूले निरन्तर र जानीजानी खेल वा कुस्ती भनी हल्का रूपमा टिप्पणी गरेको बताएकी छन् ।

धेरै पीडितहरूका अनुसार लट्ठाउने औषधि दिएर वा अरू किसिमले प्रभावित पारेर उनीहरूको शोषण गरिएको थियो। केहीले आफूसँग दुर्व्यवहार भएको कुरा परिवारका सदस्यलाई सुनाउँदा उल्टै कुटाइ खानुपरेको बताएका छन् । पेन्सिल्भेनियामा झन्डै ३० लाख क्याथोलिकहरू बसोबास गर्छन् ।

सो प्रतिवेदनमा सयौँ व्यक्तिको नाम उल्लेख गरिएको छ। तर संवैधानिक अधिकार उल्लङ्घन हुने भन्दै केही नाममा संशोधन गरिएको छ ।महान्यायाधिवक्ता जोस साफिरोले ती संशोधित नामहरू हटाइने बताएका छन् । तर सरकारी अधिकारीहरूले भने अनुसन्धान जारी रहेको र अझ धेरै मुद्दाहरू बाहिर आउन सक्ने जनाएका छन् । बीबीसी

२०७५ साउन ३० गते १०:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर