एशियाली खेलकूदको १८ औँ संस्करणमा नेपालले २९ खेल खेल्दै

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १४:०८

काठमाडौँ । एशियाली खेलकूद (एशियाड) को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ। आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद परिषद्रा (खेप) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सो अवसरमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले उक्त खेलकूदमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे एक गरी कुल २८५ जनाको सहभागिता रहने जानकारी दिएका छन्।

“साधान र स्रोेतले भ्याएसम्म हामीले खेलाडीलाई अधिकतम सुविधा प्रदान गरेका छौँ, खेलाडीको प्रशिक्षणमा सङ्घबाट आएको प्रस्तावलाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौँ, पदकको सम्भावना र नेपालमै हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीलाई समेत मध्यनजर गरी एशियाली खेलकूदमा अहिलेसम्मकै सर्वाधिक खेलमा खेलाडी सहभागी गराएका हौँ,” उनले भने।

नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जकार्ता र बाँकी छ खेल पालेम्वाङमा हुनेछन्। नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ।

एशियाडमा नेपालले सहभागिता जनाउन लागेको हालसम्मकै सर्वाधिक २९ खेलमध्ये १९ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा रहेको उनले बताए। तयारी लामो र राम्रो भएकाले नतिजा पनि राम्रो आउने उनको विश्वास छ। एशियाडको तयारी र सहभागिताका लागि रु सात करोड बजेट लाग्ने अनुमान गरिएकोमा सरकारले यसका लागि रु पाँच करोड उपलब्ध गराएको हो।

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ। नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र १९६२ मा इण्डोनेशियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन।

नेपालले हालसम्म तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य तथा करातेबाट तीन कास्य जितेको छ। १९८६ को सिओल एशियाडमा नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो। एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने एशियाडमा नेपालसहित एशियाका ४५ देशको सहभागिता रहने जनाएको छ।

२०७५ साउन ३० गते १४:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर