पूर्वमा वर्षेनी बलात्कारका घटना बढ्दै, प्रहरी भन्छ–जनचेतनाले गर्दा घटना बाहिर आए

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते ६:१७

बिर्तामोड । देशभर अपराधको तथ्याङ्क बढ्दो छ । पछिल्लो समय हत्या, हिंसा, मानव बेचविखन, बलात्कार आत्महत्या जस्ता अपराधजन्य घटना विगतमाभन्दा बढि सार्वजनिक हुन थालेका छन् । घटनाको संख्या एकनास भए पनि समाजमा चेतना वृद्धि भएका कारण यस्ता घटना गुमनाम नरही सार्वजनिक हुने क्रम भने बढेको छ । सामाजिक सञ्जालमा मानिसको पहुँच तथा जनचेतना अभिबृद्धिका कारण मानिसहरु अन्याय सहेर बस्न तयार छैनन् ।

पछिल्लो समय मुलुकमा जघन्य अपराधका घटना सार्वजनिक हुने क्रम बढेको छ । प्रहरीले खासगरी ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ । जसमा खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागूऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानब बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र विष्फोटक पदार्थ छन् ।

सरकारको अपराध रोक्ने कमजोर रणनीति र प्रहरीको निरिहताले अपराधका घटना बढेको सर्वसाधारणले आरोप लगाएका छन् । तर प्रहरी भने, अपराध बढेको नभई पहिला भन्दा अहिले चेतना बढेकाले घटना बाहिर आएको दाबी गर्छ । देशभर हरेक दिन झन्डै चार महिला बलात्कारको सिकार हुने गरेको तथ्याङ्कले देखाउँछ ।

तीमध्ये अधिकांश १६ वर्षभन्दा कम उमेरका छन् । विगत बीस वर्षमा नेपालमा झण्डै ६ गुनाले बलात्कारका घटना बढेको पाइएको जनाइएको छ । दुई दशकअघि देशभरि करीब २ सय बलात्कारका घटना हुने गरेकोमा पछिल्लो एक वर्षमा मात्रै झण्डै १२ सय घटना भएका छन् । शिक्षित जिल्लाका रुपमा रहेका प्रदेश नम्बर–१ म पनि वर्षेनी बलात्कार लगायतका महिला हिंसाका घटनामा वृद्धिभएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुम लगायतका जिल्लामा तीन वर्षको तथ्याङक हेर्दा वर्षेनी महिला तथा बालबालिका सम्बन्धि अपराधमा वृद्धि भएको पाइएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआजी केदार रिजालले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा जबरजस्ती करणीका ३८४ उजुरी दर्ता भएका थिए । उक्त घटनमा संलग्न भएको आरोपमा ३३१ जना पुरुषलाई पक्राउ गरिएको थियो । सोही वर्ष जवरजस्ती करणी उद्योग अन्र्तगत १८७ उजुरी दर्ताभएकोमा १७२ जना पुरुषलाई पक्राउ गरिएको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३–७४ मा जबरजस्ती करणीका ३३८ उजुरी दर्ताभएकोमा २९६ जना पुरुष पक्राउ परेका थिए । सोही आर्थिक वर्षमा जवरजस्ती करणी उद्योग अन्र्तगत १३७ उजुरी दर्ताभएकोमा १२२ जना पुरुष पक्राउ परेका थिए । आर्थिक वर्ष २०७२–७३ मा जबरजस्ती करणीका २८८ उजुरी दर्ताभएका थिए भने २७४ जना पुरुष पक्राउ परेका थिए । सोही आर्थिक वर्षमा जवरजस्ती करणी उद्योग अनर्तगत १३० उजुरी दर्ताभएकोमा ९९ जना पुरुष पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

देशभर विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेकाले महिला हिंसाका घटनाहरु धमाधम बाहिर आउन थालेको डीआजी रिजालको भनाई छ । उनी भन्छन्–महिलामा अब हिंसा सहनुहुदैन भन्ने मानसिकताको विकास भएको छ । विगतमा आफ्नो इज्जत जाने डरले धेरैले यस्ता उजुरी गदैन् थिए तर उनीहरुको सबै विवरण गोप्य हुनेकुरा थाहा पाएपछि धमाधम आफुमाथिको हिंसाको विषयमा महिलाहरुले उजुरी दिन थालेका छन् ।

बलात्कारका घटना बढी रहेका बेला केही महिला तथा बालबालिका आफ्न्तबाटै हिंसामा पर्नुपरेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०७४–७५ मा ५ वटा हाडनाता करणीका उजुरी दर्ताभएकोमा ४ जना पुरुष पक्राउ गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७३–७४ मा १० वटा उजुरी दर्ताभएकोमा ९ जना पक्राउ परेका थिए । अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष हाडनाता करणीका घटनामा कमी आएपनि बलात्कारका घटना भने बढेको प्रहरीको तथ्याङ्कले पुष्टि गरेको छ ।

मानव बेचविखनका घटनामा भने वृद्धिभएको डीआईजी रिजालले बताए । उनका अनुसार गत आर्थिक वर्षमा मानव बेचविखनका ५२ वटा उजुरीमा ४५ जना पुरुष र २२ जना पक्राउ गर्न प्रहरी सफल भएको छ । आर्थिक वर्ष २०७३–७४ मा ३४ वटा उजुरी परेको थियो भने २४ पुरुष र १६ महिला पक्राउ परेका थिए । विभिन्न प्रलोभनमा पारेर मानवबेचविखनमा महिला र पुरुष दुवै सक्रिय हुनेगरेको पाइएको प्रहरीले जनाएको छ । यता बोक्सीको आरोपमा गत आर्थिक वर्षमा ७ वटा उजुरी परेकोमा १४ पुरुष र २ महिला पक्राउ परेका थिए । पूर्वी जिल्ला शिक्षित मानिएपनि अझै पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट हुने गरेका घटना हुनु दुखद् भएको डीआईजी रिजालको भनाई छ ।

प्रहरीले पूर्वका जिल्लाबाट गत आर्थिक वर्षमा मात्रै केही सार्वजानिक अपराध अन्र्तगतका दुई हजार ७२५ उजुरी अन्र्तगत तीन हजार ४८७ पुरुष र ३४७ महिलालाई पक्राउ गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । सार्वजानिक अपराधका घटना समेत बढेको भन्दै प्रहरी चिनता ब्यक्र गरेको छ । डीआईजी रिजालले महिलामाथि हुने हिंसामा वृद्धिभएको तथयाङ्कले देखाएपनि क्रमश घट्दै जाने बताए । उनले अधिकांश अपराधीलाई पक्राउ गरेर कारबार्ही गरिको उल्लेख गरे । –नरेन्द्र ढकाल

२०७५ साउन ३१ गते ६:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर