भारतीय दूतावासका कारण विद्यालय पुनःनिर्माण भएन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते ४:३७

धादिङ। भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन्।

पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थालिसके तर उक्त राजदूतावासले जिम्मा लिए पनि जिल्लामा फर्केर नआउँदा १० विद्यालयको पुनःनिर्माणको काम अलपत्र परेको हो।

सालबास मावि चैनपुर, रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी मावि खरी, मिन्दूका मावि नलाङ, ठूलोचौर मावि मैदी, बराहकालिका मावि ढोला, सल्यानकोट मावि सल्यानकोट, बृचेत मावि दार्खा, महेन्द्रोदय मावि गजुरी र महाकाली मावि कुम्पुर उक्त दूतावासले एक वर्षभित्र निर्माण गर्ने गरी ०७४ को सुरुवातमै जिम्मा लिएको थियो।

निर्माण भइसक्नुपर्ने बेलासम्म पनि राजदूतावासले जिम्मेवारीअनुसार काम शुरु नगरेको र काम गर्ने वा नगर्ने कुनै जानकारी नदिँदा अन्य निकायले समेत ती विद्यालय पुनः निर्माणमा चासो नदिएका मिन्दूका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्यालले बताए।

धादिङमा भूकम्पका कारण ४६५ विद्यालयका तीन हजार ७७५ कक्षा कोठा पूर्णरूपमा ध्वस्त भएकामा दुई हजार २३५ कक्षा कोठा निर्माण भइसकेको छ। नौसय एकतीस कक्षा कोठाको निर्माण जारी छ भने ५६० कक्षा कोठाको निर्माण शुरु नभएको भूकम्पीय पुनःनिर्माण शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन इकाइका प्रमुख नवराज खतिवडाले जानकारी दिए। रासस

२०७५ भदौ २ गते ४:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर