बाढीले बाह्रबिसे बजारको पुल बगायो, आवागमन ठप्प

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते ६:००

सिन्धुपाल्चोक । गए राति मुसलधारे वर्षापछि आएको बाढीले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ ।

बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।

अरनिको राजमार्गमा पर्ने ४० फिट लामो सो पुल चीन सरकारले २०२४ सालमा निर्माण गरेको हो । बाढीका कारण सडक सतहभन्दा करीब पाँच फिटसम्म ढुङ्गा र माटो थुप्रिएको छ । खोलाको पानी घरभित्र पस्न थालेको छ । स्थानीयबासी बाढीका कारण त्रसित छन् ।

पहिरो पन्छाउन तीन स्काभेटर प्रयोग गरिएको छ । ‘पहिरो पन्छाउन समय लाग्छ,’ प्रहरी निरीक्षक थापाले भने। पुलको ठाउँमा बेलीब्रिज राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय चारिकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले बताए । पुल बगाएपछि खोर्लानीबारीका बासिन्दालाई दैनिक किनमेल गर्न बाधा पुगेको छ । पुल बगेपछि बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका बासिन्दा प्रभावित बनेका छन् । रासस

२०७५ भदौ ३ गते ६:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर