महिलाद्वारा पुरुष बलात्कृत ! यौनजन्य अपराध रोक्न टोल टोलमा प्रहरी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते ५:५५

बिर्तामोड । झापामा यौनजन्य अपराधका घटनामा वृद्धि भएसँगै प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको छ । महिलामाथि हुने यौनजन्य अपराधका घटना रोक्न प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको हो । जसका लागि जिल्लाका विभिन्न स्थानमा २ सय ३५ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

पछिल्लो समय दिनप्रतिदिन वालिकादेखि वृद्ध महिलासम्म यौनजन्य अपराधका कारण पीडित बन्दै गएको भन्दै प्रहरीले त्यस्ता अपराधका घटना न्यूनीकरणका लागि एक महिने सुरक्षा रणनीति अपनाएर काम शुरु गरेको बताइएको छ । अभियानको उद्घाटन आइतवार जिल्ला प्रहरी कार्यालय झापाबाट गरिएको छ । जसको टोली प्रमुखका रुपमा प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतलाई तोकिएको छ । योसँगै महिलामाथि हुने यौनजन्य अपराधका घटना रोक्न मद्दत मिल्ने प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।

टोलीले यौनजन्य अपराधका घटना र यसको कारकतत्वको खबर संकलन गरी विश्लेषण गर्ने, यौनजन्य घटना घटाउने अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिलाउने, विशेष सुरक्षा परिचालनमार्फत पीडितका आफन्त र आम नागरिकको सुरक्षाको थप अनुभूति दिने लगायतका उद्देश्य छन्– प्रहरी उपरीक्षक ढकालले भने– ‘अब प्रहरीले विशेष सुरक्षा नीति अवलम्वन गर्दै काम गर्छ ।’ ढकालका अनुसार सो कार्यका लागि सादा पोशाकमा ५०, मोटरसाइकल गस्तीमा एक सय जना, तलासी लिने टोलीमा ३५ जना, पैदल गस्तीमा ३५ र अनुसन्धान टोलीमा १५ जना रहने गरी प्रहरी परिचालन गरिएको छ ।

जसका कारण घटनाको बारेमा प्रहरीलाई थप सूचना प्राप्त हुने, यौनजन्य घटना नियन्त्रण र अनुसन्धानमा प्रहरी थप सक्रिय हुने, आपराधिक मनस्थितिका व्यक्तिहरु निरुत्साहित हुने, यौनजन्य घटनाको विरुद्ध आम नागरिक थप सक्रिय हुने र अपराधका घटनामा कमी आउने अपेक्षा प्रहरीको छ । एक महिनाका लागि २ सय १५ प्रहरी फिल्डमा रहने छन् । ‘जिल्लाको संवेदनशील स्थान पहिचान गर्ने, घटनाको पूर्व संकेतहरु र घटनाहरुका बारेमा खबर संकलन गर्ने, सम्भावित स्थानहरुमा सादा पोशाक मोटरसाइकल गस्ती, पैदल गस्ती र खानतलासी टोली र घटना अनुसन्धान टोलीले पहिचान गर्दै विशेष पहिचानबाट प्राप्त उपलब्धिको साथ समीक्षा गर्दै प्रहरी अघि बढ्छ’– प्रहरी उपरीक्षक ढकालले भने ।

गत वर्ष धेरै महिला बलात्कृत- २०७२ साल यता झापामा सवैभन्दा धेरै महिला आर्थिक वर्ष २०७४÷०७५मा बलात्कृत भएका छन् । प्रहरीको पछिल्लो चार वर्षको तथ्यांक अनुसार आर्थिक वर्ष ०७१÷०७२मा जिल्लामा ४७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए भने करणी उद्योग अन्तर्गत ३८ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै २०७२÷०७३ मा जबरजस्ती करणीका ५३ वटा मुद्दा दर्ता भए भने उद्योगमा १९ र २०७३÷०७४मा ५७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए । त्यस्तै, १६ वटा करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यता २०७४÷०७५ मा मात्रै ९९ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने ३४ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् । प्रहरीको चार वर्षे तथ्याङ्क अनुसार चार वर्षकै धेरै महिला २०७४/०७५ मा बलात्कृत भएको उल्लेख छ ।

महिलाद्वारा पुरुष बलात्कृत !- पुरुषले महिलालाई वलात्कार गरेको उजुरी प्रहरीमा पर्ने गरे पनि गत वर्ष जिल्ला प्रहरी कार्यालय झापामा महिलाले पुरुषलाई बलात्कार गरेको उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार जवरजस्ती करणी मुद्दामा १०६ जना पुरुष र एक महिला प्रतिवादी भएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहेका बस्नेतले भने– ‘महिलाले पुरुषलाई बलात्कार गर्ने मुद्दा यदाकदा प्रहरी कहाँ पर्ने गरेका छन्, यो पनि त्यस्तै मुद्दा हुनसक्छ, जुन मुद्दा अदालतबाट फछ्र्यौट भएको छ कि छैन, मलाई थाहा छैन’– बस्नेतले भने ।

साझ ६ देखि १२ बजेसम्म धेरै महिला वलात्कृत- महिलामाथि हुने यौनजन्य अपराधका घटना साँझ ६ वजेदेखि १२ रातिसम्म बढी हुने गरेको पाइएको छ । जिल्ला प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा भएका ९९ वटा जवरजस्ती करणीका मुद्दामध्ये ४७ वटा जवरजस्ती करणीका मुद्दा साँझ ६ वजेदेखि १२ रातिसम्म घटेको भन्दै दर्ता भएका छन् । त्यस्तै ४० मुद्दा मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म त्यस्तै बिहान ६ देखि १२ बजेसम्म ९ र राति १२ बजेदेखि ६ बजेसम्म ३ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

१६ वर्ष मुनिका बालिका धेरै बलात्कृत- प्रहरीको पछिल्लो एक वर्षको तथ्याङ्कलाई आधारमान्दा १६ वर्षमुनिका बालिका सवैभन्दा धेरै बलात्कारको शिकार बनेका छन् । एक वर्षको अवधिमा ४६ जना बालिका बलात्कृत भएका थिए । त्यसपछि १६देखि २४ वर्ष उमेर समूहका महिला बलात्कारको बढी शिकार भएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ यो उमेर समूहका २४ जना वलात्कृत भएका छन् । त्यस्तै २६ देखि ३५ वर्ष उमेर समूहका १८ महिला बलात्कृत भएका छन् भने ३६ देखि ४५ वर्ष उमेर समूहका ५ जना, ४६ देखि ६० उमेर समूहका ४ र ६० वर्ष माथिका दुई जना महिला बलात्कारको शिकार भएका छन् ।

२०७५ भदौ ४ गते ५:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर