सदरमुकामकै सडक दुई महिनादेखि अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते ५:५१

जाजरकोट । खलङ्गा–पाँचकाटिया सडक वर्षातसंगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ ।

दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ ।

सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । सडक अवरुद्ध भएपछि कुशे र बारेकोटका बासिन्दा दुई/तीन दिनको पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

त्यस्तै, उक्त सडकमा यातायातका साधन नचल्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ । घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको स्थानीय उपभोक्ताको गुनासो छ । यातायातको असुविधा भएपछि त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर लैजान स्टेचरको सहारा लिनुको विकल्प छैन ।

बाढी, पहिरो, हिलोलगायत कारण पाँचकाटिया सडकमा दुई महिना यातायात बन्द हुँदा सास्ती भएको बारेकोट १, रामीडाँडाका दलबहादुर बुढाले बताए।

सडक मर्मत सुधार नहुँदा पाँचकाटिया मात्र होइन, जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् । सदरमुकाम खलङ्गादेखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।

खलङ्गादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउँ, बाटुले, दशेरा, सीमालगायतका बासिन्दा बढी मर्कामा परेका छन् ।
वर्षेनी वर्षात् पछिका तीन/चार महिनासम्म स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती बेहोर्नुपरेको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।

कतिपय सडकमा पहिरोले पैदल हिँड्ने अवस्था पनि नभएको उनले बताए । सडक निर्माणका नाममा हरेक वर्ष करोडौँ रकम खर्च हुँदै आएको उनको भनाइ छ ।रासस

२०७५ भदौ ४ गते ५:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर