हर्कटेमा लाखौको कारोबार, तर हाट लाग्नै समस्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ६:००

इलाम। इलामको हर्कटेमा हरेक मंगलबार साप्ताहिक हाट लाग्ने गर्दछ । आसपासका कोल्बुङ, मार्से, तारगाउँ, चिण्डे, रम्याङ, कन्याम, फाजीगाउँ लगायतका मानिसको आवश्यकता पूरा गर्न बजारले सहयोग गरेको छ । तर, हाट लाग्न आवश्यक पर्याप्त स्थान नहँुदा सडकमा नै बजार लाग्दै आएको छ । हर्कटेबाट जिर्मले जाने सडक, तारगाउँ जाने सडक र फाजीगाउँ जाने सडकमा बजार लाग्ने गरेको छ ।

त्यसैगरी मेची राजमार्गको किनारमा पनि बजार लाग्दै आएको छ । हर्कटे सूर्योदय नगरपालिकाको ६ नम्बर वडा मा पर्दछ । सडकमा नै बजार लाग्दा यातायातका साधन र स्वयम् व्यापारीहरुलाई समस्या पर्ने गरेको ब्यापारी दीपक तिम्सिना बताउँछन् । ‘पानी परेको दिन हिलोमाथि पसल राख्नु पर्दछ’– व्यापारी तिम्सिनाले भने– ‘सूर्योदय नगरपालिकाले दैनिक हाटकर उठाउने गरे पनि बजार ब्यवस्थित गर्न सकेको छैन । हर्कटे बजारमा हाट लाग्ने उपयुक्त स्थान नहँुदा बजार सञ्चालनमा समस्या भएको व्यापारीले बताएका छन् ।

तर जिर्मले जाने सडक फराकिलो बनाउने काम सकिएकाले बजार सहज हुने क्रममा रहेको सूर्योदय नगरपालिका ६का वडा अध्यक्ष शिबकुमार बस्नेत बताउँछन् । ‘सडकको नाला बनाउने काम सकिएसँगै सडक हिलो नहुने र हिलो भएको ठाउँमा पनि ग्राभेल लगाउने योजना रहेकाले सडकमा एकलाइन पसल राख्दा पनि बाटो अवरोध हुँदैन– वडा अध्यक्ष बस्नेतले पूर्वाञ्चलकर्मीसँग भने– यसबर्ष वडा कार्यालयले पनि बजार व्यवस्थापनको योजनामा बजेट छुट्याएकाले बजार व्यवस्थापन हुनेछ । सूर्योदय नगरपालिकाले सडक चौडा गर्न मेची राजमार्गको हर्कटे–कन्याम सडक आसपासको घर टहरा हटाएको थियो ।

तर, एउटा सडक अतिक्रमण हटाएर अर्कोमा थुपार्ने काम राम्रो नभएको हर्कटेका केही स्थानीयबासीले बताएका छन् । यस अघि अझ अव्यवस्थित रहेको बजारलाई जनप्रतिनिधिहरु आएपछि केही व्यवस्थित भएको पाइए पनि पूर्ण व्यवस्थापन गर्न भने समय लाग्ने देखिएको छ । हर्कटेमा साप्ताहिक बजार लाग्दा स्थानीय ब्यपारीलाई पनि फाइदा पुग्छ भन्ने स्थानीय बासीले बुझ्नुपर्ने वडा अध्यक्ष बस्नेत बताउँछन् ।

उता हर्कटेको बजारलाई व्यवस्थित गर्न हाल प्रहरी चौकीबाट डाँडा हँुदै जिर्मलेतर्फको दूधडेरी भएको स्थानसम्म बैकल्पिक सडक बनाउनु पर्ने हर्कटेका युवा ब्यवसायी दुर्गाराज निरौलाले बताए । नगरपालिकाबाट आएको अनुगमन टोली सँग बसेर बिकल्पको बारेमा छलफल भइसकेकाले समस्या समाधान हुनेमा ढुक्क भएको व्यवसायी निरौला बताउँछन् । हरेक मंगलबार लाग्ने साप्ताहिक हाटमा औषत २० देखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको अनुमान गरिएको छ ।

बजारमा तरकारी, फलफूल, लत्ताकपडादेखि किराना सामान समेतको व्यापार हुने गरेको छ । झापाबाट व्यापारीहरु सामान लिएर हरेक मंगलबार बिहान हर्कटे पुग्ने र बेलुका फर्कने गरेका छन् । स्थानीय व्यापारीकोमा भन्दा हाट लागेको दिन सस्तोमा पनि सामान पाइने भएकाले बजारमा बढी चहलपहल हुने गरेको उपभोक्ताहरुले बताएका छन् । – आमसंचारबाट  गणेश अर्याल

२०७५ भदौ ५ गते ६:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर