भद्रपुरमा हुलाकी राजमार्ग निर्माणमा समस्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ५ गते ८:२८

झापा, ५ भदौ । हुलाकी राजमार्गको सहायक मार्ग चारआली–केचना सडक खण्ड, दुहागढी–चन्द्रगढी–पृथ्वीनगर–बनियानी र केचनासम्मका जनताको कष्टपूर्ण दैनिकीको हिस्सा बन्दै गएको छ । ‘हुन्छ, हुन्छ’ भन्दाभन्दै ४० किलोमिटर सडकमा कालोपत्रे नगरेको वर्षौं बितिसकेको छ । विद्युत्, टेलिफोनको पोल र खानेपानीको पाइप सडकले चर्चिने भागभन्दा पर सार्नुपर्ने काम नभएपछि थप अन्योल सिर्जना भएको छ ।

सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा बिजुली, टेलिफोनको पोल सार्ने, सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने र मुआब्जा दिने उल्लेख भए पनि खानेपानीको पाइप स्थानान्तरण गर्ने उल्लेख छैन । सोही कार्यले सडक निर्माणमा थप अन्योल सिर्जना भएको हो ।

भद्रपुर नगरपालिका–८ क्याम्पस मोड दक्षिणतर्फ विछ्याइएको खानेपानी संस्थाको पाइप हाल विस्तारित सडकको लगभग बीच भागमा पर्छ । खानेपानी कार्यालयकै कारण हालसम्म चन्द्रगढीको एसपीमोडदेखि झापाचोकसम्मको चार किलोमिटर सडक कालोपत्रे हुन नसकेको वडा नं. ८ का वडाध्यक्ष गौरब सुब्बा (मनोज)ले बताए ।

खानेपानी संस्थान कार्यालयलाई पटक–पटक पाइप लाइन सार्न नगरपालिकाले अनुरोध र दबाब दिँदा समेत सुनुवाई हुन नसकेको उनको भनाइ छ । ‘हामीले बारम्बार खानेपानी कार्यालयलाई पाइप सार्न अनुरोध ग¥यौँ’, वडाध्यक्ष सुब्बाले भने, ‘सकारात्मक जवाफ आए पनि काम भएको छैन ।’

चारआली–भद्रपुर–देउनिया २० किलोमिटर सडक खण्ड निर्माणको ठेक्का पाएको कालिका–कनकाई–थाक्थुहाङ (जेभी) का सुपरभाइजर मेघराज भट्टराईका अनुसार बर्खा सकिए लगत्तै कालोत्रेको काम हुनेछ । ‘पहिलो चरणमा एसपीमोड चन्द्रगढीदेखि झापाचोकसम्मको सडक कालोपत्रे गर्ने योजना छ’, उनले भने, ‘तर, कालोपत्रे गरेपछि खानेपानीको पाइप फुट्यो भने बाटो बिग्रिन सक्छ ।’ त्यसपछि बाँकी सडकको कालोपत्रे गर्ने का शुरु हुने उनले बताए  ।

यता, पुरानो पाइप त्यत्तिकै छोडेर सडकको दुवैतर्फ किनारमा नयाँ पाइपलाइन बिस्तार गर्ने योजना खानेपानी संस्थानको केन्द्रीय कार्यालय काठमाडौँमा पु¥याइएको संस्थानका भद्रपुर कार्यालयका प्रमुख शिरिष राजभण्डारीले बताए । ‘नयाँ पाइप लाइन बिछ्याउन करीब ३ करोडको लागत इष्टिमेटसहित केन्द्रमा योजना प्रस्ताव गरेका छौँ’, उनले भने, ‘सम्भवतः भदौभित्र उक्त योजना स्वीकृत भएर आउने छ, त्यसलगत्तै टेण्डर आह्वान गरेर काम अघि बढाइनेछ ।’

यता, खानेपानीको पाइप दर्जनौँ स्थानमा फुटे पनि सोको मर्मत हुन सकेको छैन । जसका कारण नगरबासी फोहोर पानी पिउन बाध्य भएका छन् । मर्मतका लागि पटक–पटक आग्रह गरे पनि कुनै सुनुवाई नभएको वडाध्यक्ष सुब्बाले बताए  ।

२०७५ भदौ ५ गते ८:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर