एउटा पुस्ता नै शिक्षाबाट वञ्चित हुने खतरा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते ५:१९

संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय युनिसेफले बांग्लादेशमा रहेका पाँचलाख भन्दा बढी रोहिंज्या शरणार्थी बालबालिकालाई तत्कालै उनीहरूको शिक्षामा लगानी नगरे उनीहरूको एउटा पुस्ता नै शिक्षाको उज्यालोबाट वञ्चित हुने खतरा रहेको भन्दै चेतावनी दिएको छ।

युनिसेफले जम्मा १ लाख ४० हजार मात्रै बालबालिकाको विद्यालयमा पहुँच भएको जनाएको छ। म्यानमारको रखाईन राज्यमा फैलिएको हिंसापछि लाखौंको संख्यामा भएको रोहिंज्या मुसलमानहरूको विस्थापनको एक वर्षमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा युनिसेफले बांग्लादेशको कोक्स बजारस्थित शरणार्थी शिविरहरूमा एकदमै सामान्य सुविधाहरू मात्रै रहेको जनाएको छ।

युनिसेफले बांग्लादेशमा रहेका रोहिंज्या शरणार्थीहरूसँग गत वर्ष संकट सुरु भए यता काम गर्दै आएको छ। बालबालिकाको संरक्षणका लागि चाहिने आधारभूत सुविधाका उपायहरू अपनाइँदै आएको छ।

त्यस्ता शिविरहरूमा ठूलो खालका रोग फैलिन नदिन रोकथाम गरेको विषयलाई युनिसेफले एउटा सफलता मानेको छ। यो वर्षको जुलाई महिनासम्म १ लाख ४० हजार बालबालिकाहरूका लागि अध्ययन केन्द्र बन्न सकेको छ।

तर कोचाकोच कक्षा कोठाहरूमा पानीको अभाव छ र सहमति जनाइए अनुसारका पाठ्यक्रमहरू छैनन्। ती शरणार्थीहरू फर्काउने योजनामा अहिलेसम्म कुनै सहमति नभएकोले युनिसेफले गुणस्तरीय शिक्षाका लागि लगानी गर्न तत्काल आवश्यक भइसकेको जनाएको छ। बीबीसी

२०७५ भदौ ७ गते ५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर