निर्मला हत्याकाण्डः कञ्चनपुरमा गोली चल्यो, सात जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते ७:५८

कञ्चनपुर। १३ वर्षाीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा चार दिनदेखि प्रदर्शन भइरेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बिहीबार दिउँसो गोली चलेको छ । गोली चल्दा सात जना घाइते भएका छन् । घाइते एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का जनाको खुट्टामा चोट लागेको छ ।

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तीर्थ पनेरु, भण्डाराका अर्जुन, कैलालीका सन्तोष कडरिया र भासीका तेज भट्ट लगायतका रहेका छन् । घाइतेहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ । पन्तको बलात्कार पछि हत्या आरोपमा एकजना मानसिक सन्तुलन ठिक नभएका युवालार्इ प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन सुरु भएको थियो ।

भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्तरुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका छन् ।

जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्णरुपमा ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेदकोट नगरपालिका, भीमदत्तनगरपालिका र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनकारीले चर्को नाराबाजी गरिरहेका छन् ।

यसैबीच आन्दोलन उग्र बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा आजैदेखि प्रहरी परिचालन गरिएको छ । हत्याकाण्डको अनुसन्धान र वास्तविकताबारे चन्दले जिम्मेवारी लिने गरी खटाइएको प्रहरीका एक अधिकृतको भनाइ रहेको छ ।

बालिका पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ । भीमदत्तनगर बजारमा मात्रै सीमित प्रदर्शन आज कञ्चनपुरका अन्य क्षेत्रमा समेत शुरु भएको छ । गत साउन १० गते साथीको घरबाट फर्किने क्रममा निर्मलाको बलात्कारपछि हत्या गरेको अवस्थामा शव उखुबारीमा फेला परेको थियो ।

२०७५ भदौ ७ गते ७:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर