कञ्चनपुर तनावग्रस्त: हिंसात्मक रुप लिएपछि अनिश्चितकालका लागि कर्फ्यू

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ७ गते ९:२२

कञ्चनपुर । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।

आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् । यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् । गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले झडपमा घाइते भएको बारे जानकारी लिइरहेको बताए ।

घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ । उनले आजैदेखि घटनाको छानबिन थाल्नुभएको प्रहरी स्रोतले जनाएको छ ।

२०७५ भदौ ७ गते ९:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर