टिकापुर घटनाको तेस्रो वर्ष : यथार्थ छानविन गर्न सरकारलाई दबाव
आजको खबर | प्रकाशित : २०७५ भदौ ७ गते ११:३३

काठमाडौं। थरुहट संघर्ष समितिले टिकापुर घटनाको यथार्थ छानवीन गर्न सरकारलाई दबाव दिएको छ । टिकापुर घटनाको तेस्रो वर्षको अवसर पारेर बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थरुहट संघर्ष समितिकी संयोजक रुकमणि चौधरीले टिकापुर घटनाको यथार्थ छानवीन गर्न सरकारलाई दबाव दिएकी हुन्।
उनले टिकापुर घटनाको अभियोगमा बन्दी जीवन बिताइरहेका २६ जना बन्दीहरुको तत्काल रिहा गर्न पनि सरकारसँग माग गरिन्। पूर्व सांसद समेत रहेकी चौधरीले सरकारले टिकापुर घटनाका पीडितलाई न्याय दिन नचाहेको भन्दै आक्रोश पोखिन् । उनले टिकापुर घटनाका पीडितलाई राहतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद हरिराम चौधरीले टिकापुर घटनालाई अपराधिकरण नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले टिकापुर घटनामा निर्दोष नागरिकलाई यातना दिने काम अन्त्य गरेर सो घटनाको यथार्थ छानवीन गर्न सरकारलाई सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरे।
२०७२ साल भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक झडपमा परी एक बालक र एसएसपीसहित ८ जना सुरक्षाकर्मीको हत्या भएको थियो। सोही घटनाको मुख्य योजनाकारको आरोप लगाइएका रेशम चौधरीसहित २६ जेल जीवन बिताइरहेका छन्।