ब्रिटिस आर्मीमा भर्ना हुन पैसा नखुवाउनू : ब्रिटिस क्याम्प
आजको खबर | प्रकाशित : २०७५ भदौ ७ गते १३:५९

पोखरा । ब्रिटिस आर्मीमा भर्ती हुनका लागि पैसाको चलखेल हुन्छ भन्नु निराधार भएको ब्रिटिस क्याम्स, पोखराले स्पष्ट पारेको छ।
गोर्खा ब्रिटिसले क्याम्पभित्रै विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा ब्रिटिस क्याम्पका प्रमुख मेजर सेन्डी नाइटिंगल निःशुल्क, निष्पक्ष र पारदर्शी तरिकाबाटै नेपालीहरुलाई भर्ती प्रक्रियाबाट लैजाने गरेको स्पष्ट पारे।
अन्य कारोबारमा जस्तै भर्ती प्रक्रियामा समेत दलालहरुको सक्रियता रहेपछि योग्य व्यक्तिभन्दा कमले भर्ती हुन थालेको भन्ने गत वर्षको आरोपको खण्डन गर्दै उनले पत्रकारहरुलाई भर्ती प्रक्रियाको पारदर्शी पद्दतिबारे ब्रिटिस क्याम्पमै बोलाएर ब्रिफिङ गराएका हुन् । उनले योग्यता र क्षमताका आधारमा छनोट गरिने हुँदा कसैलाई पनि आर्थिक प्रलोभनमा नपार्न आग्रह गरे।
ब्रिटिस गोर्खा, सिंगापुर पुलिस लगायतमा भर्ति गराउनकै लागि पोखरामा रहेका तालिम केन्द्रहरुले गत वर्ष प्रतिव्यक्ति ३५ देखि ४० लाख रुपैयाँ लिएको आरोप सार्वजनिक भएको थियो।
ब्रिटिस गोर्खामा भर्ति हुनका लागि करिब १ वर्ष अवधिको रहने र ४ चरण उत्तीर्ण गरेरमात्रै अन्तिम छनोट हुन सकिने र कसैलाई पनि पैसा दिनु नपर्ने उनले बताए।
ब्रिटिस क्याम्पको वेवसाइटमै कस्ता खाले प्रश्न हुन्छन्, परीक्षा प्रणाली कस्तो हुन्छ भन्नेबारे सम्पूर्ण जानकारी दिइएको कारण पैसा दिएर भर्ति भइन्छ भन्ने होहल्ला पछाडि नलाग्न समेत उनले आग्रह गरे । योग्यता र क्षमताका आधारमा मात्र भर्ति हुने भएकोले अभिभावकलाई समेत कसैको प्रलोभनमा नलागी पैसा खर्च नगर्न सचेत गराए।
भर्ति लिँदा पारदर्शी बनाउन काठमाडौं, युकेको नियमित इकाइ मार्फत गहन रुपमा निर्देशित गर्ने र हरेक सम्भावित जाँचलाई दोहो-याएर हेर्ने गरेको र यति कुनै रेक्रुट स्वास्थ्य वा शैक्षिक जाँचमा अनुत्तीर्ण भए ब्रिटिस अधिकृतबाट पुनः जाँच लिने गरेको क्याम्पसका सहायक महेन्द्र पुनले जनाए।
नेपालबाट छनोटका लागि पोखरा र धरानमा एकै पटक फाराम वितरण हुने गर्दछ ।