कर्फ्यू हटेपछि शान्त बन्दै भीमदत्तनगर
आजको खबर | प्रकाशित : २०७५ भदौ ८ गते ५:०५

कञ्चनपुर । महेन्द्रनगरमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो ।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बिहीबार ४ जना आन्दोलनकारी घाइते भएका थिए । आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
बिहानैदेखि महेन्द्रनगरका सडकमा नाराबाजी हुने गरेको भए पनि आज भने फरक दृश्य देखिएको छ । सडकमा सवारी साधन गुडिरहेका छन् । शैक्षिक संस्था, पसल अघिल्ला दिनको तुलनामा उल्लेख्य मात्रामा खुलेका छन् ।
सरकारले छानबिन समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बदलेपछि आन्दोलनकारी वार्तामा आउने तयारी भएको छ । आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भने हुन सकिरहेको छैन ।
२०७५ भदौ ८ गते ५:०५ मा प्रकाशित